सस्मरणः शहिद कुसुमसँग युद्दमा

93

टुपेन मगर
ठ्याक्कै मिति चाहीँ थाहा भएन है, समय कति छिटो बितेछ पत्तो पनि पाईएन । यसो अनुमानित हिसाब गर्दा १५÷१६ वर्ष भन्दा बढि बितेछ कि क्या हो ? हाल नेचासल्यान गाँउपालिका वडा नं ५ मा कार्यरत वडाध्क्ष राजन कुमार राई जी र म काठमाडौबाट रुम्जाटारमा तत्कालिन आरएको जहाजमा चढेर नेचा घर तर्फ जादै थियौ । त्यसताका आज भोलीको जस्तो एकै दिनमा बाईक चढेर काठमाडौमा चिया खादै गफ गर्न पुगे जस्तो थिएन । पैदल यात्रा तिन दिन, तिन रात हिडे पछि चार दिनको बिहान कटारी वा जिरीबाट बस चढेर कठमाडौ पुगिन्थ्यो । काठमाडौबाट गाँउ आउन जान एकदमै सास्ती खेप्नु पर्ने । वर्षमा उहि एक वा दुई चोटी मात्रै आवातजावत हुन्थ्यो । तर यात्रा अत्यन्तै रमाईलो उर्जावान र अविष्मरणिय हुन्थ्यो त्यो बेलामा । धेरै कुरा बिर्सिए अलि अलि कुराहरु याद छन । राजन जी र म कामाडौबाट रुम्जाटार ओर्ली सके पछि नेचा घर तर्फ बाटो लाग्यौ । ठोट्ने खोला पुग्नलाई ओरालै ओरालो झर्नु पर्ने, ठोट्ने खोला तरे पछि फेरि उकालै–उकालो हिडे पछि डाँडा गाउ पुगिने । साँझ् साँझ् पर्दै थियो डाँडा गाँउ पुगियो । अब यतै बास बसौ कि भन्ने सल्लाह भो, फेरि बास बस्ने कुनै होटल लज नै छैन । हिडौँ भने रात पर्यो, भीर र जंगलको बाटो । आ.. जे गरे पनि दुःख पाईने नै हो भनेर झोलाबाट लाईट झिकेर बाटो लाग्यौ । भीरको बाटो माँझ खर्कको जंगल उकालै उकालो रात भरि हिडेर आधारात तिर नेचा घरमा पुगियो ।

टुपेन मगर

भोली पल्ट १०/११ बजेतिर होला हामी भुमेस्थान स्कुलको प्राङ्गणमा भेट गर्यौ र झाझरे जंगलको पन्चमी डाँडातिर उकालो लाग्ने तरखरमा थियौ । त्यसै बेला हिमाल दर्शन मा. वि.का प्र.अ. मणि कुमार श्रेष्ठ (मणि सर), कता हिडेको केटा हो ? भन्दै तलतिर आई रहनु भएको थियो । हामीले जंगल तिर हिडेको भने पछि, जंगलतिर नजाउ केटा हो, हिजो रातभरि रुम्जाटारमा भिडन्त भएको छ, सबै घाईते माओवादीहरु जंगलमा होलान, आर्मीको हेलिकप्टर पनि घुमिरा’छ भन्नु भो । ओ हो त्यसबेला पो झसङ्ग याद भो हिजो राती रुम्जाटारमै बास बसेको भए मरिने रहेछ भन्ने भो । अर्कोतर्फ रातभरि लाईट बालेर हिडियो बीच बाटो मै माओवादीले भेटेको भए हामीलाई पनि युद्दमा लान्थ्यो होला भन्ने भो । तर सुरक्षित पाटो के भएछ भने हामी जुन बाटो घर नेचा तर्फ आयौ त्यो भन्दा तल्लो एयरपोर्ट जाने बाटोबाट साँझ नै माओवादी रुम्जाटार तिर लागेका रहेछन् । त्यसो हुँदा हाम्रो जम्काभेट भएन । मणि सरको सल्लाह अनुरुप हामी पन्चमी नजाने भयौ । खासमा हामी पन्चमी जानुको मुख्य उदेश्य चाहि त्यसताकाको सक्रिय संस्था युवा पुन्ज यूनिटद्वारा प्रकाशित ‘नेचा दर्पण’ पुस्तकको लागी पन्चमीको डाँडा र झाँझरे जंगलको फोटो खिच्नु थियो ।

अर्को दिन म बिहिबारे बजारबाट पन्चमी डाँडा तिर उकालो लागे । त्यस दिन राजन जी हुनुहन्न थियो । उकालै–उकालो हिडेर ठ्याक्कै पन्चमीको डाँडामा पुगेर तलतिर हेर्दै थिए, एउटा छाता समाएको मान्छे खरबारीमा बसेर तलतिर हेर्दै गरेको देखे । कोहि गोठाला होला भनेर मैले पनि आफु डाँडा माथी पुगेको खुशी र मान्छे देखेको साहसले होला ओ…… .. है…….. भनेर कराए । छाता समाउने मान्छेले पुलुक्क हेरेको थियो । टाढा भएको कारणले मान्छे चिन्न चाहीँ अलि गारो हुन्थ्यो । मैले त्यो मान्छेको वास्तै गरिन र पछाडी जंगलतिर फर्केर फोटो खिच्न थाले । फोटो खिच्ने धुनमा थिए तर पछाडीबाट कोहि आईरहेको जस्तो आवाज आयो । पछाडि फर्केर हेर्दा त अघि छाता समातेर बसेको गोठालो जस्तो मान्छे त वास्तबमा बन्दुक समातेर बसेको माओवादी पो रैछ । कति छिटो मेरै पछाडी आईपुगी सकेछ । खरानी कलरको टिसर्ट, हरियो कम्ब्याटको पाइन्ट र हातमा बन्दुक बोेकेको मान्छे देखे पछि हल्का अप्ठ्यारो महशूस भयो । फेरि अनुहार हेरेर आँखा जुधे पछि श्वास फेर्न राहत मिल्यो । किन भने उ थियो मेरै साथी भरत । हामी ९÷१० कक्षासँगै स्कुल पढेका थियौँ । यो भेटसम्म आई पुग्दा धेरै समय त बितेको छैन तर पनि उ र म मा धेरै कुराको भिन्नता थियो । सपना सोच र दिनचर्या फरक भएका थिए । उ देशको मुहार फेर्न प्रत्यक्ष रुपमा लडाईमा होमिएको थियो । यहि सिलसिलामा उ यो एरियाको कमान्डर भएर हिडि रहेको थियो । हो उ त्यहि व्यक्ति थियो सहिद कुसुम अर्थात भरत कुमार राउत । स्कुल पढ्दा मलाई यत्रो ठूलो छाती भएको मान्छे बेलायती सेनामा भर्ती भई हाल्छ नि भन्थ्यो । तर छाती त उसको ठूलो थियो । जसले देशको निम्ति ज्यान दिन तयार थियो । स्कुले जीवनपछि हामी त्यहि दिन भेटेको हो । तर त्यस बेलासम्ममा सामान्यतय मलाई कलाकार र गायक भनेर चिन्ने गर्दथे । वास्तबमा कुसुम पनि एक सिर्जनशील व्यक्ति र कलाकार थिए । यो भेट अगावै उसले आफ्नो गाँउमा सामाजिक नाटक प्रस्तुत गरि सकेका थिए भने हामीले पनि धेरै नाटक र कार्यक्रम पस्की सकेका थियौ । एक आपसमा नबोली नै चिनजान भए पछि, उसले सोध्यो कता हिडेको ? मैले भने पत्रिका प्रकाशनको लागी जंगलको फोटो खिच्न आएको भने । उनीहरु अस्तिको रुम्जाटारमा भिडन्त पछि घाइते जनसेनालाई लिएर सुरक्षित ठाँउतर्फ जंगलको बाटो भएर हिडेका रहेछन् । सामान्य जानकारी दिएर उ छरितो सँग फटाफट हिड्यो । उ एकदमै हतारमा थियो ।

म पन्चमीको डाँडैडाँडा तल चौतारा भएको तिर झर्दै थिए । कारण कुनाकाप्चामा छिर्दा वा भाग्दा झन आर्मी वा माओवादीले नचिनेर गोली हान्छन् भनेर डाँडैडाँडा हिड्दै थिए । यतिकैमा हुलका हुल १०÷१२ वटा स्टेचरमा घाइते बोकेर माओवादीका लस्कर आई रहेका थिए । दुई तिन भाई माओवादी केटाहरु खुरुरुरु आएर मलाई घेरा हालेर केरकार गर्न खोज्दै थिए । यत्ति नै बेला माथिबाट कुसुमले हाम्रो मान्छे हो भने पछि मलाई छोडेर घाइते बोक्न हुल भित्र मिसिए । हुलका हुल माओवादीको गठ्ठा गई रहेका थिए । लुकिलुकि छड्के आँखाले हेर्दै म आफ्नो बाटो लाग्दै थिए । फेरि एक हातमा बन्दुक बोकेर फुर्ती साथ कुदेर कुसुम मेरो छेउमा आई पुग्यो र भन्यो ‘साथी हामी लडाईले थकित छौ, घाईते साथीहरु धेरै छन्, एक छिन स्टेचर बोक्न सघाई दिनु पर्यो भन्यो ।’ बन्दुक बोकेको साथीबाट यस्तो प्रस्ताव आए पछि स्वीकार गर्नै पर्यो । त्यस पछि म पनि हुल भित्र पसेर धेरै स्टेचरको भिडमा एउटा स्टेचरमा काँध हाले । नाङ्गी डाँडापाखा जंगल र खरबारीको बाटो आरामले हिड्न नपाइने फटाफट हिड्नु पर्ने थियो । घाइतेहरु बदला लिन्छु भन्दै कराई रहेका थिए । अरु साथीले हाम्रो जीत निश्चित छ भनेर सान्त्वना दिई रहेका थिए । त्यसबेला मलाई माओवादीको चाहीँ डर लागेन किन भने मेरै साथी कमान्डर थियो । त्यसमाथि मैले उनिहरुलाई नै सहयोग गरिरहेको थिए । चुपचाप ती काँधमा स्टेचर बोकेर फटाफट हिड्दा रमाईलो अनुभव पनि भयो । अरु बेला माओवादी देख्दा भागिन्थ्यो आज माओवादीको लस्करमा निष्फिक्री हिड्दा शान बढे जस्तो महशुस पनि गरियो । तर जब नाङ्गो डाँडातिर हिड्दा चाहीँ सारै डर लागेर आयो । किनभने अघिल्लो दिनसम्म जंगल र डाँडातिर हेलिकप्टर घुमि रहेको थियो । यस्तो हुल देखेर सेनाले हेलिकप्टरबाट गोली, बम ,बाँरुद हान्छ कि जस्तो चाहीँ मनमा लागि रहेको थियो । यसरी हिड्दाहिड्दै पल्लो सुके पोखरीको पाखामा गएर अलि झाँडी भएको ठाँउमा विश्राम गरियो ।

माओवादी साथीहरु विश्राम गरि रहेका थिए, मैले चाहीँ अब छुट्कारा मिल्छ होला भनेर मन मनै सोची रहेको थिए । मैले चिन्ने भनेको कुसुम मात्रै थियो । एक जना चिनेको साथी बेतघारीको यादव थलुङ पनि थियो तर हुल भित्र भएको कारणले बोलचाल भएन । केहिछिनको विश्राम पछि सबै जना उठेर बाटो लाग्न थाले । यतिकैमा कुसुम छेउमा आएर फेरि भन्न थाल्यो ‘तपाईले अझै सहयोग गर्नु पर्यो, हामी लडाईले थकित छौ, साथीहरु धेरै घाइते छन् हामीलाई दुध कोशीपारी सम्म पुर्याइ दिनुपर्यो ।’ मैले भने ‘म त फोटो खिच्न आ’को र लेकखर्कतिर चिठी पुर्याउन पनि जानु छ’ भने । मसँग लेक खर्कको मान्छेको एउटा चिठी पनि थियो । तर साथीले मेरो कुरा सुनेन ।। उ हतार र डठ्फट् नै गरि रहेको थियो । म लुरुलुरु गएर फेरी स्टेचरमा काँध हालेर हुलसँगै बाटो लागे । अक्सर मलाई कलम भन्दा तरवार नै बलियो लाग्छ । मेरो सिद्धान्त यहाँ पनि लागु भयो । गरुङ्गो मन गर्दै घाइते बोकेर हिडिरहे, तर पनि एक चोटी कुसुमलाई घर जान्छु भनेर अनुरोध गर्छु भनेर मनमा कुरा खेलाउदै हिडिरहे । तर त्यसबेला कुसुम त्यहाँ थिएन । प्राय जसो उ हुलको अगाडी हिडेर डट्फट् गरि रहेको हुन्थ्यो । निकै पर पुगे पछि पनि कुसुमलाई नदेखे पछि काँध गल्यो भनेर मैले बिस्तारै स्टेचर छोडे । अलि–अलि ढिलो हिडेजस्तो गरेर पछिपछि सर्दै थकाई मारे जस्तो गरेर म हुल देखी पछाडी परे । उनीहरु अघि गइरहे । मलाई कसैले केहि भनेनन् । त्यस पछि उनीहरु डाँडा कटि सकेपछि तुफान कुदेर पन्चमी डाँडामा आएर लामो श्वास फेरे ।

देशमा आमुल परिवर्तन गर्नको निम्ति ठूलो छाती पारेर कमाण्डिङ गर्दै कुसुम (भरत कुमार राउत) झन युद्दमा होमियो । तर पछि शहादत्त प्राप्त भयो रे भन्ने खबर सुनियो । यथार्थ कुरा त्यसबेला माओवादी मर्यो रे भन्दा धेरै मान्छे खुशी हुन्थे । तर कुसुमको देहान्तको हल्ला चल्दा नेचा र नेचाली स्तब्ध भए । जनमानसमा कुसुम चाहीँ राम्रो छ भन्ने विश्वास थियो । र, सबैले कुसुम राम्रो छ भन्थे ।

त्यसताकाको अध्यारो समयमा सिर्जना र परिवर्तनको बाटो खोजी रहने कैयौ युवाहरुको भिडमा एक निडर र बहादुर योद्दा जसले मातृभुमिको माटोलाई मुछेर आफ्नो शैलीमा सजाउन र सिंगार्न चाहान्थे ।। हामी बाँचेर पनि यो भूमिलाई केहि दिन सकेका छैनौ । तिमीले त बलिदान दियौ । तिम्रो वास्तबिक सपना के थियो त्यो त हामीलाई थाहा भएन । तर तिमीले त यो भूमिलाई बल दियौ, बुद्धि दियौ, श्रम दियौ, पसिना दियौ, रगत दियौ अन्त्यमा सम्पूर्ण शरिरलाई बलिदान दियौ । तिमीजस्तै हजारौ योद्दाहरुको बलिदानले हिजोको त्यो अध्याँरो दिन र रातहरुलाई छिचोलेर आज हामी निष्फिक्री स्वतन्त्र छाती खोलेर बोल्न र बाँच्न पाएका छौ । जाती र पार्टीको विषय नजोडौ र नखोलौ यहाँ, तिमी एक चोटी मरेर गयौ । तर सधैका लागी बाँचेर गयौ । तिमी जिउँदो छौ । त्यसैले म तिमीलाई श्रद्दान्जली दिन्न । तिमी यो भूमिको छोरा हौ, पुरुष हौ रवास्तबिक नायक हौ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम