नागरिकलाई बिकास निर्माणको कार्यमा सचेत बनाउनु पर्छः सांसद राजभण्डारी

41

१४ साउन, सोलुखुम्बु । नेकपा प्रदेश १ का प्रमुख सचेतक एंव प्रदेश सभा सदस्य बुद्धि कुमार राजभण्डारीले नागरिक सचेत हुन सके बिकास निर्माणका कार्यले गति पाउने बताएका छन् । उनले नागरिकलाई सहभागि गराईएको कार्यमा भ्रष्टाचारको सम्भावना पनि कम हुने विश्वास ब्यक्त गरे ।


बुधबार सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ मा निर्माण भएको दलित सामुदायिक भवनको उद्घाटन गर्दै सांसद राजभण्डारीले भने, “स्थानिय नागरिक सहभागि गराईएको कार्य प्रगती पनि अन्य भन्दा भिन्न देख्न पाईन्छ ।” उनले बिकास निर्माणमा मात्र नभएर नयाँ संरचनाअनुसार जनप्रतिनिधिले के कसरी काम गरिरहेका छन त्यसको समेत प्रत्यक्ष निगरानि जनताले गरी प्रश्न गर्न सक्ने स्थितीको श्रृजना गर्नुपर्नेमा जोड दिए । आगामी करिब २ बर्षको कार्यकालमा आफ्नो निर्वाचन क्षेत्रसँगै सिंगो जिल्लालाई नै बिद्युत र खानेपानीको क्षेत्रमा कुनै अभाव हुन नदिने गरी कार्य अगाडी बढाईएको समेत जानकारी गराएका छन् ।


कार्यक्रममा वडा नं. ६ का अध्यक्ष रामकुमार श्रेष्ठले वडाका तर्फबाट सक्दो बिकास निर्माणसँगै जनताको मन जित्ने गरी कार्य गरेको उल्लेख गर्दै कोरोना भाईरसका कारण ढिलासुस्ति भएका तथा रोकिएका कार्यलाई अब निरन्तर रुपमा अगाडि बढाउने प्रतिबद्धता जनाए । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर विश्वकर्माले आफ्नो टोलमा कुनै छलफल, बैठक वा भोजभतेर गर्नुपर्दा स्थानमा अभाव तथा अन्य समस्या पर्दै आएकोमा आगामी दिनमा यो समस्याबाट मुक्त भएको जिकिर गरे ।

निर्वाचन क्षेत्र विकास कोष, क्षेत्र नं. ख अन्र्तगत बिनियोजित १० लाख रुपैंया, नगरपालिकाको ६ लाख ५० हजार तथा जनश्रमदान गरी २० लाख रुपैंयाको लागतमा सो भवनको निर्माण भएको हो । सम्झौता गरी छोटो समयमा नै स्थानियको सक्रिय सहभागितामा सो भवन निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

यसैबिच प्रेदश सभा सदस्य एवं नेकपा प्रदेश नं. २ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, नेकपा सोलुदुधकुण्ड नगरपालिकाका ईन्चार्ज रामकाजी श्रेष्ठ, वडा अध्यक्ष रामकुमार श्रेष्ठ लगायतको टोलिले वडा नं. ६ मा निर्माण भएका बिभिन्न योजनाको समेत अनुगमन गरेको छ । सो टोलिले खानेपानी, सडक, गुम्बा तथा गोरेटो बाटोको अनुगमन गरेको हो ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम