हिजो सर्वदलीय बैठकमा कसले के भने ?

12

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठकमा राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताको विषयमा एक भएर अघि बढ्न सबै दल र दलका नेतासँग आग्रह गरेका छन्। संविधान संशोधनको विषय सर्वसम्मत रुपमा टुंगो लगाउन र सबै दल राष्ट्रिय एकताका लागि संशोधनको प्रस्तावको पक्षमा उभिन आग्रह गरेका हुन्।

‘देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त राष्ट्रिय सहमति कायम गरेर अघि बढ्न सबै दलहरूसमक्ष प्रधानमन्त्रीज्यूले जोड दिनुभएको छ’, बैठकपछि प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘वार्ता र कूटनीति नै यस समस्याको समाधान गर्ने एक मात्र उपाय। संविधान संशोधनका अन्य विषयमा छलफल गर्दै जाने र निशान छापमा नक्सा परिवर्तनको विषयमा यसै अधिवेशनमा छिटो निर्णय गर्नुपर्ने आवश्यकताप्रति प्रधानमन्त्रीले सहभागी नेतासँग बैठकमा विशेष अनुरोध गर्नुभएको छ।’

बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावको पक्षमा एक ठाउँमा हुने तर त्यसका लागि केन्द्रीय समिति बैठकबाट निर्णय कुर्न माग गरेका छन्। ‘संविधान संशोधन प्रस्तावको पक्षमा हामी छौँ। राष्ट्रियताको विषयमा हामी एक ठाउँमा छौँ’, देउवाले बैठकमा भने, ‘हामीलाई समय दिनुहोस् केन्द्रीय समिति बैठक बसेर निर्णय गर्छौँ।’ जवाफमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को संकट भएकाले तत्काल निर्णय लिन आग्रह गरेका छन्।

बैठकमा सहभागी मधेस केन्द्रित दलका नेताले भने संविधान संशोधन गर्दा मधेसका मागलाई प्याकेजमै हल गर्न माग गरेका छन्। जवाफमा प्रधानमन्त्री ओलीले संविधान २०७२ मंसिरमा संशोधन भएको र अहिले गरेर पुनः फेरि गर्न सकिने भन्दै अहिले नक्साको विषयमा एकजुट हुन आग्रह गरे। यस विषयमा छलफलका लागि पुनः सर्वदलीय बैठक आह्वान गर्ने ओलीले प्रतिवद्धता जनाएका छन्।

कांग्रेसका तीन धारणा
बैठकमा नेपाली कांग्रेसका नेताले सीमाको विषयमा कूटनीतिक पहल, संविधान संशोधनमा राष्ट्रिय सहमतिलगायतको विषय राखेका छन्। कांग्रेसका तर्फबाट सभापति देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र नेता कृष्णप्रसाद सिटौला सहभागी थिए।

उनीहरुले सीमा विवादको कूटनीतिक समाधान, संविधान संशोधनमा राष्ट्रिय सहमति र पार्टी केन्द्रीय समितिबाट निर्णय गर्ने लगायतको विषयमा धारणा राखेका हुन्।

‘सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हुन्। ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ, नेपाली कांग्रेसले विगत देखिनै प्रष्ट राख्दै आएको यो धारणा आज हामी पुनः दोर्होयाउन चाहन्छौं’, बैठकमा कांग्रेसले प्रस्तुत गरेको धारणाबारे जानकारी दिँदै मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘उच्च स्तरीय कूटनीतिक पहल मार्फत यो विषयको हल गरिनुपर्छ भन्ने हाम्रो आग्रह छ। हामी यो विषयमा सरकारको साथमा छौं।’

सँगै कांग्रेसले संविधान संशोधन केन्द्रीय समितिबाट निर्णय पर्खन प्रधानमन्त्रीलाई अनुरोध गरेको छ। ‘संविधान संशोधन जस्तो विषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जाँदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ। नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं। यस बारेमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्नेछौं।’

सकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो। भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ।

सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्मा दर्ता गरेको छ।

संविधान संशोधन प्रस्ताव संविधानको अनुसूची ३ मा रहेको निशान छापभित्रको नक्सा परिवर्तनका निम्ति मात्र संसदमा दर्ता भएको हो। यो सँगै कोरोना महामारीको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन्। सर्वदलीय बैठक बालुवाटारमा करिब ३ घण्टा चलेको थियो। यसअघि वैशाख ३१ गते प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए। अन्नपुर्ण पोष्टबाट

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम