सगरमाथा आधार शिविरमा वाई-फाई सेवा पुर्याउने दूरसञ्चार प्राधिकरणको योजना

11

सरकारले सगरमाथा बेस क्याम्पमा वाईफाई सेवा पुर्याउने तयारी गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सगरमाथा बेस क्याम्पमा वाईफाई सेवा पुर्याउनका लागि ईच्छुक कम्पनीहरुसँग प्रस्ताव माग गरेको छ।

सो प्रस्तावमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमात्र सहभागी हुनसक्नेछन् जसले प्रतिस्पर्धामार्फत सगरमाथा आधार शिविरसम्म वाईफाई सेवा बिस्तार गर्नुपर्ने हुन्छ ।

प्रस्तावमा सहभागी हुने कम्पनीहरुले कम्पतीमा २ करोड रुपैयाँको वार्षिक कारोबार १० वर्षसम्म गरेको हुनुपर्ने प्राबधान राखिएको छ । त्यस्तै कम्तिमा १०० जना फिक्स्ड डाटा सेवाग्राही भएको हुनुपर्नेछ भने १०० किलोमिटरको नेटवर्क संचालन गरेको अनुभव भएको हुनुपर्नेछ । त्यस्तो कम्पनीहरुले ज्वाइन्ट भेन्चरमा समेत प्रस्ताव हाल्न सक्नेछन् ।

सगरमाथा आधार शिविरसम्म सो प्रस्तावअनुसार कम्पनी छनौट भएको अवधिदेखि ८ महिनाभित्र सेवा पुयाईसक्ने योजना प्राधिकरणले लिएको छ ।

त्यसैगरि सो क्षेत्रमा अप्टिकल फाईबरमार्फत इन्टरनेट नेटवर्क बिस्तार गरिने हुँदा सोलुखुम्बुको नाम्चेदेखि सगरमाथा आधार शिविरसम्म नेटवर्क पुर्याउनुपर्नेछ । प्राधिकरणले आन्तरिक कोष प्रयोग गरेर यो परियोजना संचलन गर्ने जनाएको छ ।

यसअघिको परियोजनामा आवेदकहरु योग्य नहुँदा खारेज भएपनि पुन प्रस्ताव मागिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए । अहिले सो क्षेत्रमा वाईफाई मह‌ंगो भएको गुनासो आईरहेको र कतिपय स्थानहरुमा पहुँच नभएको हुँदा यो परियोजनाले समाधान गर्न सहयोग गर्नेछ ।

‘यो फ्री वाईफाई होईन् । अनुदानमा भएको हुँदा कम्पनीले प्राधिकरणबाट अनुमति लिएको न्यूनतम दररेटमा मात्र वाईफाई सेवा दिनेछ,’ प्रवक्ता अर्यालले भने ।

सगरमाथा आधार शिविरसम्म वाईफाई पुर्याउने प्रोजेक्टको लागि प्राधिकरणले अधिकतम ८ करोड रुपैयाँको लागत तोकेको छ । तर प्रस्तावमा सहभागी हुने कम्पनीहरु बिचको प्रतिस्पर्धाले सो लागत मूल्य घट्नसक्नेछ ।

प्रोजेक्टमा अप्टिकल फाईबर नेटवर्क सो स्थानसम्म पुर्याउने कम्पनीले आगामी २५ वर्षसम्म सो क्षेत्रमा सेवा संचालन गर्न पाउने शर्त समेत राखिएको छ ।

कम्पनीले सो क्षेत्रमा दैनिक आधा घण्टाको लागि निशुल्क वाईफाई दिनेछन भने त्यसपछि अन्य समयमा स-शुल्क सेवा दिन पाउनेछन् ।

यसअघि दूरसंचार प्राधिकरणले सगरमाथा आधार शिविरसम्म वाईफाई पुर्याउने प्रस्ताव आब्हान गरेपनि योग्य कम्पनीहरु सहभागी नभएको भन्दै त्यसलाई खारेज गरेको थियो ।

त्यसबेला नै दूरसंचार प्राधिरकणले अन्नपूर्ण बेसक्याम्पसम्म र पर्यटकिय क्षेत्र तथा मठ मन्दिरहरुमा वाईफाई पुर्याउने योजनासहित टेण्डर खुला गरेको थियो तर त्यसमध्ये अन्नपूर्ण आधार शिविरसम्म वाईफाई पुर्याउने योजना बाहेक अन्य खारेज भएका थिए ।

हालै मात्र सगरमाथाको चिनियाँ क्षेत्रको ६,३०० मिटरको उचाईसम्म चाइना मोबाइल र ह्वावेले संयुक्तरुपमा ५जी सेवा शुरु गरिसकेका छन् ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम