प्रतिबन्ध, कोरोना कहर र मजदुर दिवस

35

– खेम थपलिया

 

 

 

मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ । – (माक्र्स (सेप्टेम्बर १८७१, लन्डनमा भाषण)

माक्र्सको उपर्युक्त भनाइ मजदुर मुक्तिसँग जोडिएको सन्दर्भ हो । निश्चय पनि यहाँ मजदुर उत्पीडनको कारण पुँजीवादी राज्यसत्ता भएको र पुँजीवादी राज्यसत्ता उल्ट्याउन युद्ध आवश्यक पर्ने माक्र्सको सोच भेटिन्छ । यसर्थ मजदुरवर्गको मुक्ति भनेकै मजदुरवर्गीय राज्यसत्ता हो । माक्र्सको यो भनाइ समकालीन विश्व र नेपालमा आज पनि उत्तिकै सान्दर्भिक र औचित्यपूर्ण छ । विश्वमा जति पनि परिवर्तनहरू भएका छन्, जति पनि उथलपुथलहरू भएका छन्, त सबैमा मजदुरहरूको अहम् भूमिका रहँदै आएको छ । विशेषगरी फ्रान्सको राज्यक्रान्ति र युरोपमा विकास भएको औद्योगिक क्रान्तिपश्चात् मजदुरहरूको सङ्गठनात्मक एकता र योजना मूर्तीकृत हुन थालेको हो । आदिम साम्यवादी युगमा त्यसखालको परिस्थिति थिएन । मूलतः कृषियुग र त्यसपछिका समयमा मानव जीवनका तीब्र रूपमा परवर्तन हुँदै आएको देखिन्छ । जनसङ्ख्याको तीब्र विकास मात्र होइन, मानवका विकसित आकाङ्क्षाहरूलाई साकार अघि बढ्ने सन्दर्भमा नयाँ नयाँ सैद्धान्तिक एवम् दार्शनिक व्याख्याहरू पनि हुन थाले । ती व्याख्याहरू तत्कालीन दार्शनिकहरूले आ–आफ्नै सापेक्षतमा व्याख्या पनि गर्दै अए । ती अनेक व्याख्याहरूमध्ये फायरवाख, हेगेल हुँदै कार्ल माक्र्ससम्म आइपुग्दा त्यसले व्यवस्थित मात्रै भएन, वैज्ञानिक पनि भयो । त्यही वैज्ञानिक कार्यदिशाका आधारमा विश्वका करिब आधा देशहरूमा समाजवादी क्रान्तिहरू हुन पुगे । जति पनि देशहरूमा समाजवादी क्रान्ति सम्न्न भए, ती सबैमा एकै प्रकारको क्रान्तिको विशेषताका आधार रहेन । फरक फरक देशमा फरक फरक कार्ययोजना र नीतिका आधारमा क्रान्तिहरू भए । कतिपय देशहरूमा क्रान्तिले पछाडि फर्किनुपर्ने अवस्था पनि बन्यो । त्यसो हुनुमा त्यहाँको विशेषता र क्रान्तिकारी अभियानमा उपयुक्त तालमेलको अभाव नै थियो । यो कुरा नेपाली जनक्रान्तिलाई पूरा गर्ने कार्यभारसित जोडिएर पनि आउँछ । यो विकसित र नवीन परिस्थितिलाई क्रान्तिकारीहरूले विशेष ख्याल गर्न आवश्यक छ ।

विश्वमा समाजवादी क्रान्ति सम्पन्न भएका देशहरूमा क्रमशः प्रतिक्रान्ति हुँदै गएको र तत्कालीन सोभियत सङ्घ एवम् वार्साको विघटनपछि आफूलाई शक्तिशाली ठानेको नेटो र त्यसको मूल नेतृत्व अमेरिकी साम्राज्यवाद केही वर्ष मैमत्ता बन्यो पुग्यो । फलस्वरूप अमेरिकी देशहरू, मध्यपूर्व तथा केही एसियाली देशसम्म पनि हस्तक्षेपको योजना बनायो । विश्वका कैयौँ देशहरूमा उसले आफ्नो सैन्यअखडा खडा ग¥यो । अमेरिकाले आफ्नो सुरक्षा बजेटमा पनि कैयौँगुणा वृद्धि ग¥यो । यसले आफूलाई अस्थायी रूपमै भए पनि एक्लो बहादुरको रूपमा बुझ्यो । अमेरिकी साम्राज्यवाद यतिसम मनोगतवदमा फस्न पुग्यो कि उसको व्यवहारबाट उसकै कतिपय मित्र राष्ट्रहरू ऊसँग चिढिन पुगे । वर्तमानमा आइपुग्दा विश्व बहुध्रुवमा बाँडिन पुगेको छ । कोरोना भाइरस ‘कोभिड १९’ सम्म आइपुग्दा परिस्थितिमा व्यापक हेरफेर आउने सङ्केत पनि देखिन थालेको छ । यो कुराले विश्वभरका मुक्तिकामी तथा उत्पीडित रष्ट्र तथा जनतालाई सुखानुभूति दिएको छ । यो कुरा नेपालका क्रान्तिकारी मजदुरहरूका निम्ति पनि सुखद् सन्दर्भ हो ।
नेपालमा यतिखेर एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी क्रान्तिलाई पूर्णता दिने पहल भइरहेको छ । यो पार्टीको निर्माण र यसले अघि सारेको नयाँ राजनीतिक कार्यदिशा, विश्वमा विकसित विशेषताका साथै, नेपाली समाजमा विकास हुँदै गएको नयाँ नयाँ विशेषताका आधारमा क्रान्तिलाई पूर्णता दिने सार्थक पहल हो । यतिखेर हामी फेरि पनि अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने तरखरमा छौँ । नेपालका मजुदुरहरू मात्र नभएर संसारभरका मजदुरहरूले यो दिवस मनाउन आ–आफ्नो सापेक्षतामा भव्य तयारी गरिरहेका छन् । तथापि मजदुरको परिभाषा, काम, कर्तव्य र अधिकारका क्षेत्रमा काम गर्न धेरै बाँकी छ ।

एकछिन् पेरिस कम्युनको बारेमा कुरा गरौँ, पेरिस कम्युन सर्वहारावर्गको आदर्श हो । वर्ग समाजमा हरेक वर्गको आ–आफ्नो आदर्श हुन्छ । बसिखाने वर्गको एउटा आदर्श हुन्छ भने गरिखाने वर्गको आदर्श अर्को हुन्छ । त्यसैले १८ मार्चको दिनलाई संसारभरका श्रमजीवीहरूले एक आदर्श एवम् गौरवशाली दिनका रूपमा स्मरण गर्ने गर्छन् । करिब डेडसय वर्षअघि यसै दिन पेरिसका श्रमजीवीहरूले आफ्नो राज्यसत्ता स्थापना गर्न सशस्त्र विद्रोहको थालनी गरेका थिए । यही सशस्त्र विद्रोहमार्फत् इतिहासमै पहिलोपटक मजदुरहरूको आफ्नो राज्यसत्ता पेरिस कम्युनको स्थापना भएको थियो ।

१९ औँ शदीको सातौँ दशकको प्रारम्भमा फ्रान्स सामाजिक अन्तर्विरोधहरूको केन्द्रको रूपमा रहेको थियो । सन् १७८९ को फ्रान्सिसी पुँजीवादी क्रान्तिपछि मजदुर र पुँजीपतिहरूका बीचको अन्तर्विरोध तीव्र रूपले बढिरहेको थियो । गणतन्त्र प्राप्तिका लागि सामन्तवादविरुद्धको लडाइँमा मजदुरहरूको निर्णायक तागतलाई उपयोग गरे पनि गणतन्त्र प्राप्तिपछि पुँजीपतिहरूले मजदुरहरूलाई निःशस्त्र पार्दै उनीहरूविरुद्ध मोर्चाबन्दीसमेत सुरु गर्न पुगे । सिद्धान्ततः मजदुरहरूले गणतन्त्र प्राप्तिको सङ्घर्षलाई शोषणमा आधारित समाज व्यवस्थाको विरुद्ध प्रयोग गर्न खोजे पनि वस्तुतः त्यो गणतन्त्र पुँजीपतिहरूको नियन्त्रणमा पुग्यो । फलस्वरूप श्रमजीवी जनतामाथि झन् बढी दमन र थिचोमिचो हुन थाल्यो । यसको प्रतिक्रियास्वरूप मजदुरहरूमा एकपछि अर्को गर्दै आक्रोश थपिँदै गयो । मजदुरहरूको ध्यान अन्यत्र मोड्न शासकहरूले प्रसियामाथि आक्रमण गरे पनि सो युद्धमा उनीहरू पराजित हुन पुगे । यी सबैको एकमुष्ठ परिणाम सन् १८ मार्च १८७१ मा विद्रोहको रूपमा विष्फोट भयो र सर्वहारावर्गको आदर्शका रूपमा पेरिस कम्युन जन्मन पुग्यो । यद्यपि, जनताको त्यो पहिलो सत्ता लामो समय टिक्न सकेन र ७२ दिनको छोटो समयमै प्रतिक्रियावादीहरूको चौतर्फी प्रहारबाट यो विघटन हुन पुग्यो ।

मानिसद्वारा मानिसमाथि हुने सबै भेदभावको अन्त्य भएको आदर्श समाजको स्थापना गर्न इतिहासको निर्माता श्रमजीवी जनताले पेरिस कम्युनमा देखाएको वीरता, त्याग र बलिदानको उदात्तभावले आज पनि संसारभरका क्रान्तिकारीहरूलाई उत्प्रेरित गरिरहेको छ । पेरिस कम्युनमा श्रमजीवी जनताद्वारा प्रस्तुत गरेको सर्वहारावर्गीय आदर्श विश्वभरिका क्रान्तिकारी आन्दोलनका लागि प्रेरणाको स्रोत बनिरहेको छ । पेरिस कम्युनको गौरवशाली मोर्चामा पुँजीपतिहरू ‘मेरो छोराछोरीका लागि’ भन्दै बाँच्न चाहन्थे भने श्रमजीवी वर्ग ‘हाम्रा छोराछोरीका लागि’ भन्दै बलिदान हुन तयार हुन्थे । मानव मुक्तिका लागि गरिएको त्यो अपूर्व बलिदान आजको क्रान्तिकारी आन्दोलनमा पनि ऊर्जाको स्रोत बनिरहेको छ र बनिरहनेछ । पेरिस कम्युनको गौरवशाली झन्डा एक लाखभन्दा बढी सर्वोत्तम छोराछोरीहरूको बलिदानको जगमा फहराइएको पेरिस कम्युनको झन्डा आज विश्वव्यापी रूपमा फैलिएको छ । पेरिस कम्युन सत्ताको रूपमा पराजित भए पनि संसारभरि यसले पैदा गरेको तरङ्ग र यसले देखेका सपनाहरू किमार्थ पराजित हुनेछैनन् । त्यसैले महान् माक्र्सले संश्लेषण गर्नुभयो– पेरिस कम्युन असफल हुन सक्छ तर त्यसले सुरु गरेको सामाजिक क्रान्तिको विजय हुनेछ । त्यसको जन्मथलो सर्वत्र छ ।

उपर्युक्त सन्दर्भमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाका उद्देश्य र एकताका आधारहरूबारेमा पनि चर्चा गर्नु उपयुक्त हुन्छ । सन् २२ अप्रिल, २००६ मा नेपालमा सामन्ती राज्यव्यवस्थाको अन्त्य र समाजवादी राज्यव्यवस्थाको स्थापना गर्ने उद्देश्यले पाँचजना अग्रगामी चेतना भएका युवाहरूले कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । त्यसले आफ्नो स्थापनाको उद्देश्य अहिलेसम्म पूरा गर्न सकेको छैन । यद्यपि कम्युनिस्ट पार्टी स्थापना भएपछि आमूल परिवर्तन र अग्रगामी चिन्तनका वाहकहरू यो पार्टीप्रति आकर्षित–आबद्ध पनि भए । झाङ्गिँदै अघि बढेको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न चरणमा भएका आन्दोलन र आफ्नै पहलमा आन्दोलन गर्ने प्रयास पनि ग¥यो । त्यसरी गरिएका प्रयासहरूले देशमा परिवर्तनका लागि जग हाल्ने काम ग¥यो र अन्ततः देशलाई गणतान्त्रिक युगमा प्रवेश गराउने महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल ग¥यो । सामन्ती राजतन्त्रको गजुर ढालियो ।
स्थापनाकालदेखि आन्तरिक रूपमा दक्षिणपन्थी शक्तिका विरुद्ध सङ्घर्ष गर्नुमा नै नेपाल कम्युनिस्ट पार्टीले धेरै समय र शक्ति खर्चनुप¥यो । सङ्घर्षकै क्रममा यसमा टुटफुट र विभाजन देखाप¥यो । विभिन्न गुट–उपगुट जन्मन पुगे । नेपालको कम्युनिस्ट आन्दोलन तीसदेखि पचाससम्मको अवधि टुटफुटको र विभाजनको पर्याय बन्न पुग्यो । टुटफुट र विभाजनकै कारण देशको परिपक्व परिस्थितिको बाबजुद वर्गसङ्घर्षलाई जनताको अपेक्षाअनुरूप कम्युनिस्ट पार्टीले अगाडि बढाउन नसक्दा जनताको चाहना पूरा गर्न पाएन । यही कमजोरीको आत्मसातीकरणका साथ कम्युनिस्ट आन्दोलनको सही समीक्षा गर्दै माओवादीले २०५२ साल फागुन १ गतेबाट ग्रामीण वर्गसङ्घर्षको माध्यमबाट नेपाललाई अर्धसामन्ती–अर्धऔपनिवेशबाट पूर्ण मुक्ति दिने अभियान सञ्चालन ग¥यो । त्यसका लागि हतियार प्रयोग अनिवार्य सर्त भएको माओवादीले आत्मसात् ग¥यो । बन्दुकको नालबाट राज्यसत्ताको जन्म हुन्छ भन्ने माओले प्रतिपादन गरेको सिद्धान्त नेपाली धर्तीमा माओवादीले लागू ग¥यो । वास्तवमै कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्यअनुरूप जनताको राज्यसत्ता स्थापना बन्दुकको नालबाटै हुन सक्छ भन्ने कुरालाई आत्मसात गरेको हुँदा नै माओवादीले सुरु गरेको जनयुद्ध देशभर ज्वारभाटासरि फैलियो र यसले भारतदेखि चीनसम्मका नेपालीलाई जनयुद्धले वर्गसङ्घर्षको तुफानी साङ्लोमा आवद्ध गरायो । जनमुक्तिका लागि जनयुद्धमा आफ्नो योग्यता, भौतिक अवस्थाअनुसार सबै नेपाली जनयुद्धमा कुनै न कुनै रूपमा सरिक बने । यसमा उनीहरूको जनयुद्धप्रतिको संलग्नता देशलाई मुक्ति दिनु र अर्धसामन्ती अर्धउपनिवेशबाट पूर्ण मुक्त भई स्वाधीन देशका स्वावलम्बी नागरिक भएर बाँच्ने उद्देश्य थियो । जनताको व्यापक सहभागिताकै कारण जनयुद्धले नेपालमा मात्र नभई सिङ्गो विश्वलाई नै नेपालको जनयुद्धले काफी मात्रामा प्रभावित तुल्यायोे ।

जनता अहिले पनि सिद्धान्तः सशस्त्र सङ्घर्षकै माध्यमबाटै कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य पूरा गर्ने मोर्चामै छ । शान्तिपूर्ण बाटोबाट वर्गसङ्घर्षलाई अगाडि बढाएर पार्टी स्थापनाको उद्देश्य पूरा हुन सक्तैन । अहिले नयाँ परिवेशमा एक्काइसौँ शताब्दीमा क्रान्ति–प्रतिक्रान्तिमा विश्व क्रान्तिको मूल्याङ्कन गर्दै नयाँ विश्व परिवेशअनुसार नीति अगाडि सारेको माओवादी आपूmहरू निरन्तर क्रान्तिको मोर्चामै रहेको कुरा बताइरहेको छ । कम्युनिस्ट पार्टी स्थापनाले परिकल्पना गरेको अर्धसामन्ती–अर्धउपनिवेशको अन्त्य र समाजवादी राज्यव्यवस्थाको स्थापना नै प्रमुख हो । कम्युनिस्ट पार्टी स्थापना भएदेखि आजसम्म आउँदा नेपाली कम्युनिस्ट आन्दोलनमा माओवादी सबभन्दा ठूलो र शक्तिशाली पार्टी बनेको छ तर ऊ आज छिन्नभिन्न हुन पुगेको छ । यसले लिने नीतिले नै कम्युनिस्ट पार्टी स्थापनाको लक्ष्य पूरा हुन सक्छ वा सक्दैन भन्ने निर्धारण गर्दछ । कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य पूरा गर्न एकपटक पुनः सङ्कल्प गर्नु आवश्यक छ ।

शोषण तथा उत्पीडनबाट मानवजातिको मुक्ति आन्दोलन अनेकौँ मोड र घुम्तीहरू हुँदै आफ्नो ऐतिहासिक विकासको बाटोमा अघि बढिरहेको छ । आन्दोलनभित्र देखापरेका गैरसर्वहारा विचारहरूको विरुद्ध, माक्र्सवादको क्रान्तिकारी सारतत्वबाट भएका विचलनहरूका विरुद्ध, अर्थवाद, सुधारवाद, संशोधनवाद, विसर्जनवाद, अवसरवाद आदिको विरुद्ध सिद्धान्तको आधारबाट अविचलन र सम्झौताहीन ढङ्गले सङ्घर्ष अघि बढाउन आवश्यक छ । दक्षिणपन्थी–अवसरवाद, सारसङ्ग्रहवादका विरुद्ध सङ्घर्ष गर्दै सबै सैद्धान्तिक, व्यावहारिक र साङ्गठनिक क्रियाकलापमा माक्र्सवादलाई पथप्रदर्शकका रूपमा प्रयोग गर्न जरुरी छ । सुधारवाद–संशोधनवादको दलदलबाट जोगाएर क्रान्तिकारी सिद्धान्तको रक्षा गर्दै विश्वक्रान्तिको अग्रगतिको पक्षमा अघि बढ्न सकिन्छ । मानवजातिको मुक्ति सङ्घर्षको बाटोलाई आलोकित पार्न नेतृत्वमा सही नीति तय गर्न सक्ने क्षमता, संशोधनवाद तथा अवसरवादप्रति दृढ, सम्झौताहीन विरोध, हरपरिस्थितिमा सही अडान र निर्णय लिन सक्ने क्षमता, साङ्गठनिक र नेतृत्वदायी क्षमता, सच्चा शत्रु र सच्चा मित्रलाई छुट्याउन सक्ने गुण, निर्णय लिनमा र त्यसको कार्यान्वयनमा द¥होपन दर्शाउने गुण, निर्दिष्ट लक्ष्यको पक्षमा सारा सकारात्मक तत्वहरूको उपयोग गर्न सक्ने सामथ्र्य, श्रमको मुक्ति लक्ष्यमा समर्पित एकाग्रता जस्ता सच्चा सर्वहारा क्रान्तिकारी गुण हुन जरुरी छ । सर्वहारावर्गका आदर्शका श्रमिक जनता र श्रमप्रति महान् स्नेह, जनताप्रति असीम विश्वास, आत्मत्याग र आत्मबलिदान सम्झौताहीन दृष्टिकोण, सादा जीवन र उच्च विचारको उत्कृष्ट रूप, निष्कपटता, नैतिक सच्चरित्रता, बलियो सङ्कल्प शक्तिद्वारा नयाँ युगको यात्रा सम्भव छ । एकताका सैद्धान्तिक आधारहरूको खोजी गर्दै माओवादी विश्व सर्वहारावर्गको नेतृत्व गर्ने पार्टी भएकोले क्रान्तिकारी विचारको रक्षा गर्नु यसको पहिलो दायित्व हो । वर्गसङ्घर्षलाई कमजोर बनाएर कुनै पनि हालतमा पार्टी स्थापनाको उद्देश्य पनि पूरा हुन सक्तैन । त्यसैले एकपटक समवेत स्वरमा भनौँ– संसारका मजदुर र श्रमिकहरू एक होऔँ ।

फासिवादी ओली सरकारले प्रतिबन्ध लगाएको यतिबेला, विश्व महामारी कोरोना भाइरसले सताइरहेको यतिबेला हामी १३१ औँ महान् मजदुर दिवस मनाइरहेका छौँ । मजदुरहरू प्रतिबन्धित अवस्थामा आफ्नो प्रिय दिवस मनाउन बाध्य छन् । यतिबेला सयौँ मजदुर जेल र हिरासतमा छन् । ओली सरकार मैमत्त बनेको छ । यतिबेला ओली सरकार कुर्सीको लुछाचुँडीमा व्यस्त छ । माक्र्सले भन्नुभएजस्तै मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा नै जित्नुपर्नेछ । यसको निम्ति सम्पूर्ण मजदुरहरू एकजुट हुन अनिवार्य छ । अपेक्षा गरौँ– मजदुरहरूको क्रान्तिकारी धुब्रीकरण हुनेछ । वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्त गर्ने यात्रा सफलता हुनेछ । श्रमिकवर्गको राज्यसत्ता प्राप्तिको दिशामा एकीकृत जनक्रान्तिले सार्थकता प्राप्त गर्नेछ ।

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम