पनौतीमा टिपरको ठक्करबाट आमाछोरीको मृत्यु, स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिए

45

काठमाडौँ, ४ चैत । टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएपछि सोमबार साँझ पनौती तनावग्रस्त बनेको छ। बनेपाबाट पनौतीतर्फ गुडिरहेको बा ५ ख ५४८० नम्बरको टिपरले पनौती बसपार्कमा ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको मृत्यु भएको थियो।

स्मारिकाले बाटो काट्ने क्रममा आमाले छोरीलाई बचाउन खोज्दा टिपरले किचेको थियो। स्मारिकाको घटनास्थलमै र जुनीमायाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो। चालकको लापरबाहीका कारण आमाछोरीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा सातजना घाइते भएका छन्। स्थानीयले घटनाको विरोधमा नाराबाजी गरेर सडक अवरुद्ध गरेका थिए। उनीहरूले पनौतीस्थित प्रहरी बिट जलाइदिएका छन्।

घाइते हुनेमा तीन सर्वसाधारण र चार प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविकुमार पौडेलले जानकारी दिए। झडप नियन्त्रणमा लिन प्रहरीले ७ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। घाइते सबैको सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। घटनास्थल प्रहरी बिट नजिकै छ। टिपर र चालक नवराज थापालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। शव पोस्टमार्टमका लागि सिर मेमोरियल अस्पतालमा राखिएको छ। साँझ ९ बजेपछि पनौती साम्य भएको थियो। (अन्नपूर्ण पोष्टबाट)

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम