भ्रमण वर्षः तालपोखराका रमाइला माछा

26

पाल्पा, रामपुरमा रहेको तालपोखरामा माछा हेर्नकै लागि पर्यटक आउने गरेका छन् । मानिसले नै निर्माण गरेको कृत्रिम ताल, तालका बीचमा रहेको मन्दिर, उद्यान तथा मोबाइलबाट तस्वीर खिंच्ने स्थल तथा डुङ्गामा शयर गर्नका लागि तालपोखरामा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । पूर्वी भेग रामपुर नगरपालिका वडा नम्बर ६ तालपोखरामा माछा हेर्नेको चहलपहल बढेको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटाले जानकारी दिनुभयोे ।

नेपालका एक सय पर्यटकीय गन्तव्य केन्द्रका रुपमा सूचीकृत तालपोखरामा अहिले करीब आठ हजार माछा छन् । तालमा रहेका माछालाई दाना तथा भुजा फ्याँकिदिनेबित्तिकै माछा माथि उत्रिने दृश्यले सबैलाई लोभ्याएको समितिले जनाएको छ । देवकोटाका अनुसार तालमा तीनचार किलोसम्मका माछा छन् । ती माछा देख्दा सबै रमाइलो मान्छन् । पछिल्लो समय दाना तथा भुजा बोकेरै मानिसहरु तालपोखरा घुम्न आउने गर्छन् ।
तालपोखरा आएकामध्ये केही डुङ्गामा शयर गर्ने, तालका बीचमा रहेको जलेश्वर महादेवको दर्शन र पूजाराधना गर्ने, कोही तस्वीर खिंचेर फर्कने तथा कोही माछा मात्रै हेरेर फर्कने गरेको अध्यक्ष देवकोटाले बताउनुभयो । नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनकै निम्ति दैनिक करीब तीन सय पर्यटक तालपोखरा आउने गरेका छन् । हिउँदको समय प्रायः यस क्षेत्रका विद्यालय बिदा हुने र धेरैले घुम्ने मनोरञ्जन लिने समय भएकाले पनि पर्यटकको सङ्ख्यामा वृद्धि भएको देवकोटाको भनाइ छ ।
पहिले यहाँ गाईवस्तु चर्ने खाल्डो जमीन थियो । हिउँदमा गाईवस्तु चराउने चरन र वर्षात्मा अन्य क्षेत्रबाट बगेको पानी जम्मा भएर ताल बन्ने स्थानलाई तालपोखराका रुपमा विकास गरिएको हो । एक दशक अघिसम्म वर्षात्को पानीले भरिने खाडल अर्थात् ताललाई स्थानीय सरोकारवाला र बुद्धिजीवीले यस क्षेत्रमा ताल र मन्दिर तथा बालोद्यान लगायत विभिन्न पर्यटकलाई आकर्षण गर्ने खालका भौतिक संरचना निर्माण गरी पर्यटकीय क्षेत्रका रुपमा विकास गरेपछि रामपुर आउनेबित्तिकै तालपोखरा पुग्नेको सङ्ख्यामा वृद्धि भएको देखिन्छ ।
विसं २०६६ पुस ११ गतेदेखि श्रीमद्भागवत कथा प्रवचन गरी महायज्ञबाट रु एक करोड ७२ लाख बराबरको नगद, धान, तुला, जग्गालगायत सङ्कलन गरेर तालपोखराको अवधारणा बनाइएको थियो । विभिन्न व्यक्ति, सङ्संस्था तथा स्थानीय सरकार रामपुर नगरपालिकाबाट सहयोग सङ्कलन गरी तालपोखराका बीचमा महादेवको मन्दिर, चारैतिर ताल, शिवको मुक्ति निर्माण, उद्यान निर्माणलगायत वनभोजस्थललगायत निर्माण गरी तालको वरपर तारबारसमेत गरिएको छ । झण्डै तीन सय वर्ष पुरानो इतिहास रहेको तालपोखरा क्षेत्रको ४४ रोपनी क्षेत्रफलमा मात्र ताल रहेको छ । पानीले भरिएको तालको बीचमा प्यागोडा शैलीमा जलेश्वर महादेवको मन्दिर छ ।
झण्डै ६५ रोपनी क्षेत्रफलमा रहेको सो क्षेत्रको तालमा डुङ्गाबाट मन्दिरमा जाने आउने व्यवस्था व्यवस्था छ । चारैतिर बत्ती, शिवालय उद्यानलगायत विभिन्न व्यवस्थापन भए पनि तालको चारैतिरको पार्क, बालउद्यान, बनाउने समितिको योजना रहेको तालपोखरा संरक्षण समितिका सचिव सुनिल देवकोटाले जानकारी दिनुभयो ।
तालपोखराको विकासका निम्ति नगरपालिकाबाट अहिलेसम्म रु ५० लाख, नेपाल पर्यटन बोर्डबाट रु २५ लाख र समितिको पहलमा यसको पूर्वाधार विकास गरिएको हो । कास्कीमा रहेको फेवातालको झल्को दिने तालमा केही समय मत्स्यपालनसमेत गरिएको थियो । काली नदीको पानीलाई तानेर तालमा भरिँदै आएको छ । तालपोखरा निर्माणका निम्ति अहिलेसम्म करीब रु दुई करोड खर्च भइसकेको समितिले जनाएको छ ।
पाल्पाका श्रीनगर डाँडा, रानीघाट, सत्यवती मन्दिरलगायत विभिन्न धार्मिक एवम् पर्यटकीय क्षेत्र जस्तै तालपोखरामा पनि पर्यटनको विकास गर्न लागिपरेको समितिले जनाएको छ । भगवान रामले त्रेता युगमा वनवासका क्रममा रामपुरको समेत भ्रमण गरेको विश्वास छ । यही क्षेत्रमा बनेको राममन्दिरको छुट्टै धार्मिक महत्व छ ।
भगवान् रामले खाना पकाएको रामचुलो, नुहाएको घाट रामघाट, बास बसेको ठाउँलाई रामका नामबाटै नामकरण भएका छन् । धार्मिक महत्व रहेको रामपुरमै तालपोखरा क्षेत्र रहेकाले पनि यसको महत्व रहेको छ । सरकारले पर्यटकीय गन्तव्य सूचीमा राखेपछि यहाँ आउने पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको समितिले जनाएको छ ।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम