क्यान्सरबाट कसरी बच्ने ?

38

आफ्ना कारणहरूबाट कुपित भएका वातादि दोषहरूले रगत मांस धातुलाई दूषित पार्छन् । तिनीहरू मिलेर शरीरको एक अङ्गमा गोलो आकारको, माथि उठेको, यताउति नसर्ने, कम दुख्ने, भित्रसम्म जरा फैलाएको, ठूलो आकारको, बढ्न धेरै समय लाग्ने, तर नपाक्ने मासुको डल्लो उत्पन्न गराउँछन्, त्यसलाई भनिन्छ अर्बुद (क्यान्सर) रोग ।

अर्बुद रोग ६ प्रकारको हुन्छ । वातज, पित्तज, कफज, रक्तज, मांसज र मेदोज । यी अर्बुदका लक्षणहरू वातज, पित्तज, कफज आदि ग्रन्थि जस्तै हुन्छन् । रक्तज र मांसज अर्बुदका लक्षणहरू केही विशेष हुन्छन् ।

रक्तार्बुदको सम्प्राप्ति र लक्षण – कुपित दोषले रगत र त्यो रगत बग्ने सिराहरूलाई दूषित पार्छ । त्यसपछि ती सिराहरूमा सङ्कोच गराई जम्मा हुने अवस्था ल्याउँछ । अनि नपाक्ने तर स्राव भइरहने खालको मासुको डल्लो बनाउँछ जुन मासुका साना अङ्कुरहरूले व्याप्त हुन्छ र छिटो बढ्ने हुन्छ । त्यसबाट लगातार रगत पनि बगिरहन्छ । यो रक्तार्बुद असाध्य हुन्छ । यस रोगमा बढी मात्रामा रगतको क्षय हुनाले रोगी पाण्डुवर्णको (फुस्रो) देखिने हुन्छ ।

मांसार्बुदको कारण, संप्राप्ति र लक्षण– मुट्ठी, लट्ठी आदिले हिर्काउँदा शरीर पीडित भएको बेलामा मांस धातु दूषित हुँदा यस्तो शोथ उत्पन्न हुन्छ जुन स्निग्ध, छाला जस्तै रङ्गको, नदुख्ने, नचल्ने र ढुङ्गोजस्तो सारो हुन्छ, पाक्ने गर्दैन । यो मासु बढी खाइरहने मानिसमा मांसको दोषबाट उत्पन्न हुन्छ । यो पनि असाध्य हुन्छ ।

वातज आदि साध्य अर्बुद पनि स्राव भइरहने, मर्महरूमा निस्केका, नाक–कान आदि मार्गमा उत्पन्न अथवा स्थिर भएमा असाध्य हुन्छन् ।

पहिले जुन ठाउँमा अर्बुद उत्पन्न भएको छ त्यसमाथि अर्को अर्बुद निस्कियो भने त्यसलाई अध्यर्बुद भनिन्छ । एकैपटकमा दुई अर्बुदहरू उत्पन्न भएमा वा क्रमैले उत्पन्न भए पनि त्यसलाई ‘द्विरर्बद’ भनिन्छ । यो पनि असाध्य हुन्छ । अर्बुद रोगमा कफ अथवा मेद धातुको दोष बढी हुनाले र दोषहरू स्थिर अवस्थामा रहने हुनाले कुनै पनि अर्बुदमा पाक हुँदैन ।

ग्रन्थि र अर्बुद रोगको चिकित्सा – नपाकेको ग्रन्थिमा पहिले शोथनाशक चिकित्सा गर्नुपर्छ, पाकेपछि त्यसलाई चिरेर पिप निकालिदिनुपर्छ र घाउ ठीक भएपछि औषधि दिनुपर्छ । पित्तज ग्रन्थिमा पहिले जुका लगाउनुपर्छ । त्यसपछि दूध–पानी मिसाएर बिस्तारै भिजाउनुपर्छ । सज्जीखार (सोडा), मूलाको क्षार शंखको चूर्ण सबैलाई पिनेर लेप गर्नाले ग्रन्थि र अर्बुद नष्ट हुन्छन् । (परीक्षित)

मूलाको क्षार, बेसारको भष्म र शंखको चूर्ण यी सबैलाई एक ठाउँमा पिनेर लेप गर्नाले अर्बुद रोगको नाश हुन्छ । (परीक्षित)
बरको दूध, कुठ, सिधेनुन मिसाई लेप गरेर माथिबाट बरकै पातले बेरेको खण्डमा हाडमाथि उत्पन्न अर्बुद पनि नष्ट हुन्छ । (परीक्षित)
दन्तीको जरा, चितुको जरा, सिउँडीको दूध, आँकको दूध, गुड, भलायोको गेडा, हीराकसिस सबैलाई पिनेर लेप गर्नाले अत्यन्त बढेको गाँठो पनि पाकेर निस्की आराम भएर जान्छ । गाँठो पकाउनका लागि यो लेप रामवाण नै छ । (परीक्षित)
सैजनको बियाँ, मूलाको बियाँ, सस्र्यूं तुलसीको बियाँ, जौ, करबीरको जरा, यी सबैलाई महीसँग पिनेर लेप गर्नाले अर्बुद रोगमा आराम हुन्छ । (परीक्षित)

मुख आदि मर्मस्थानहरूमा गाँठो आदि आउँदा चिरफार गर्न डर लागेमा बालंगा (तुत मलंगा)को बियाँलाई पानीमा भिजाएर सफा टालोमा फिँजाई गाँठोमा टाँसिदिएमा त्यो आफँै टाँसिन्छ बाँध्नुपर्दैन । यसबाट घाउको पीडा तथा जलन शान्त भएर शोथ र रातोपन पनि हराउँछ र नपाकेको गाँठो बस्छ । पाकिसकेको भए नदुखीकन सहज तरिकाले फुटेर आराम हुन्छ ।

(औषधि विज्ञान)

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम