प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने

17

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीको मिर्गाैलाको डाइलाइसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए । ‘महाराजगञ्जस्थित ‘मनमोहन काडियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ,’ श्रेष्ठले भने ।

‘मिर्गौलाको आवश्यकताअनुसार डाइलाइसिसको प्रक्रिया पनि जारी रहेको छ । यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइनेछ,’ उनले बताए ।

सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको यही मंसिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

सचिवालय बैठकमा हालै सम्पन्न भएको उपनिर्वाचनमा समीक्षा तल्लो तहका कमिटीबाट समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि मात्र गर्ने निर्णय गरेको छ । ‘अहिलेसम्म औचपारिक रूपमा कहीँबाट पनि घात–अन्तर्घातको जानकारी प्राप्त भएको छैन, तर औपचारिक समीक्षा आगामी बैठकबाट निर्वाचनमा भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि गर्नेछौँ,’ उनले भने । ती कमिटीलाई बैठकले प्रतिवेदन पठाउन निर्देशनसमेत दिएको छ । नेकपाले सचिवालयको अर्को बैठक आगामी मंसिर २३ गते बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा राखेको छ ।

उनका अनुसार उक्त बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा, पार्टी संगठनात्मक एकीकरणको बाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउनेबारे आवश्यक निर्णय लिनेछ ।

दाङ घोराही उपमहानगरपालिका विद्रोही उम्मेदवार उठेकालाई तत्कालै कारबाही गरेर निष्काशन गरेको उनले जानकारी गराए । नेकपाले यही मंसिर १४ गते भएको उपनिर्वाचनमा आफूले पहिले जितेको धरान उपमहानगरपालिकाको प्रमुख र भक्तपुर क्षेत्र नं. १ (क) को प्रदेश सभा सदस्य गुमाएको छ ।
रासस

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम