सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,

20

काठमाडौं। आफूसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभए सरकारबाट बाहिरिने चेतावनी दिँदै आएका समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवसँग प्रधानमन्त्री केपी ओली रुष्ट बनेका छन्।

सरकारमा सहभागी भएर सरकारको विरोध गरेको, विभागीय मन्त्रीको जिम्मेवारी निर्वाह गर्न नसकेको र विदेश भ्रमणमा मोह देखाएको लगायतका विषयप्रति प्रधानमन्त्री ओली यादवप्रति रुष्ट बनेको बालुवाटार निकट स्रोतले जनाएको छ।

पछिल्लो समय सार्वजनिक कार्यक्रममा यादवले सरकारको चर्को आलोचना गर्दै आएका छन्। सरकारमा सहाभागी भएर सरकारको आलोचना गर्दै हिँड्नु नैतिकताका हिसावले उचित नभएको भन्दै प्रधानमन्त्री ओलीले यादवलाई सचेत समेत गरेका छन्।

प्रधानमन्त्रीबाट समेत दबाव खेपेका यादवलाई पार्टीभित्र पनि सरकारबाट बाहिरिन दवाब पर्न थालेको छ। विशेष गरी तत्कालीन नयाँ शक्ति पार्टीसँग एकता गरेपछि पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी भएका उपेन्द्र यादवमाथि सरकारबाट बाहिरिन दवाब परेको हो।

डा। बाबुराम भट्टराई पक्षधर तत्काल सरकारबाट बाहिरिनु पर्ने पक्षमा छन्। तर सरकारमा तेस्रो बरियतामा रहेका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव भने तत्काल सरकारबाट बाहिरिन नहुने पक्षमा छन्।

राष्ट्रिय जनता पार्टीसँग एकताको तयारी गरिरहेको समाजवादी पार्टीलाई राजपाले एकतका लागि सरकारबाट बाहिरिनुपर्ने सर्त राखेको छ। विभिन्न चरणमा भएको दुई दलबीचका औपचारिक छलफलमा राजपाले सरकारबाट बाहिरिनुपर्ने शर्त राखेको छ। जसलाई समाजवादी पार्टीले सकारात्मक रुपमा लिएको राजपाका एक नेताले बताए।

सरकारबाट बाहिरिनु पर्ने दवाब खेपिरहेका यादव अब बस्ने केन्द्रीय समितिको बैठकबाट सरकार छाड्ने वा बाहिरिने निर्णय हुने छ िपार्टीका कार्यक्रममा सहभागी हुँदा सरकारको आलोचना गरेर कार्यकर्ताको मन जित्ने कोशिश गरेपनि यादव तत्काल सरकारबाट बाहिरिन चाहँदैनन्।

स्रोतका अनुसार सरकारबाट बाहिरिएपछि आफ्नो माग पूरा गराउन दवाबका कार्यक्रम गर्नुपर्ने हुन्छ। तर अहिले तत्काल आन्दोलन हुने अवस्था नभएको यादवले निष्कर्ष निकालेका छन्। बरु सरकारमा सहभागी भएरै आफूहरुको माग पूरा गराउन प्रभावकारी भूमिका निर्वाह गर्न सकिने यादवले निष्कर्ष निकालेको स्रोतले जनाएको छ।

‘सरकारबाट बाहिरिनुको अर्थ आन्दोलनमा जानु हो,’ एक नेताले भने, ‘अहिले आन्दोलनमा जाने अवस्था छैन। दुई नम्बर प्रदेशमा पनि हाम्रै नेतृत्वको सरकार छ। त्यो सरकारप्रति पनि जनताको असन्तुष्टि छ। यसलाई हामीले राम्रोसँग बुझेका छौं।’

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम