काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो

9

काठमाडौं। जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणअन्तर्गत पहिलो तला (भुइँ तला) निर्माणको काम (छानाबाहेक) सकिएको छ। काष्ठमण्डप पुनःनिर्माण समितिले मङ्गलबार सार्वजनिक सुनुवाइ गरी पुनःनिर्माणको काम लगभग आधा सकिएको जनाएको हो।

उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार हालसम्म रु तीन करोड खर्च भएको छ । उपभोक्ता समितिलाई काठमाडौँ महानगरपालिकाले रु साढे पाँच करोड दिएको थियो। हालसम्म निर्माणका लागि रकम अभाव भएको छैन। हाल काष्ठमण्डपका लागि आवश्यक काठ बर्दिवास र अम्लेखगञ्जबाट ल्याइएको छ। हालसम्म चार हजार ३८ क्युफिट काठ उपयोग भइसकेको छ। सम्पदाविज्ञ डा सुर्दशन तिवारीले पुरातात्विक सामग्रीको संरक्षण गरी पराम्परागत प्रविधिको प्रयोग गरी काष्ठमण्डपको पुनःनिर्माण भइरहेको जानकारी दिए।

उनका अनुसार काष्ठमण्डपमा पुर्खाले पहिला कसरी निर्माण गरेका थिए भन्ने कुराको जानकारी लिनसमेत सहयोग भएको छ। १२औँ शताब्दीमा बनेको विश्वास गरिएकामा बेलायतको दुराग्रह विश्वविद्यालय र पुरातत्व विभागको अध्ययनले सातौँ शताब्दीमा निर्माण भएको पत्ता लागेको थियो। पुरातत्व विभागले जाँच गरेर पुराना सामग्री पुनः प्रयोग गर्न सकिन्छ भनेपछि केही पुराना काठ र इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ।

सोमा चार मूल थाममध्येमा एक थाम (१०औँ शताब्दीमा प्रयोग गरिएको पाइएको) पुरानो राखिएको छ। त्यस्तै १०० थान मेथमध्येमा २९ सातौँ शताब्दीमा प्रयोग गरिएका थाम राखिएको छ। काष्ठमण्डप पुनःनिर्माण समितिका सचिव गौतम डङ्गोलका अनुसार पहिलो र दोस्रो रोमा १०र१० मेथ प्रयोग गरिएको छ भने तेस्रो रोमा नौ मेथ प्रयोग गरिएको छ। पुनःनिर्माण समितिका अनुसार, परम्परागत सामग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ। काष्ठमण्डप पुरानै शैली (तीन तलाको)को बन्नेछ।

भित्ता निर्माणका लागि काष्ठमण्डपकै पुरानो माटो, धरहरा पुनःनिर्माणका क्रममा निकालिएको माटो र ताहचलको माटो प्रयोग गरिएको छ। त्यस्तै आवश्यक ढुङ्गा काभ्रेबाट ल्याइएको छ । पुनःनिर्माणका लागि आवश्यक काठ नेपाल टिम्बर कर्पोरेशन (टिसीएन) सँग पुरातत्व विभागको लागतअनुसार १७ हजार ५८ क्युपिट काठ ल्याउने सम्झौता गरिएको छ। त्यस्तै काष्ठमण्डपमा प्रयोग गरिएको इँटा दक्षिणबाराही इँटा उद्योगबाट ल्याइएको छ।

पुनःनिर्माण समितिका सचिव श्रेष्ठले भन्नुभयो, “काष्ठमण्डपमा सादा इँटाको प्रयोग गरिएको पाइयो, ‘ठूलो माःअप्पा’ र ‘सानो माःअप्पा’ गरी दुईथरिका इँटा प्रयोग भएका रहेछन्, त्यसैअनुसार सादा खालका दुई प्रकारको इँटा प्रयोग गरी काष्ठमण्डपको गारो ठड्याइएको छ।” हालसम्म ३३ हजार ३५८ ठूलो माःअप्पा र २१ हजार ५३० सानो माःअप्पा प्रयोग भएका छन्। काष्ठमण्डपको मूल थामको मुनि दुई किलो सुन राखिएको छ।

समितिले राष्ट्र बैकबाट उक्त सुन किनेको हो। त्यस्तै प्रत्येक मूल थामको मुनि र माथि तामा जडान गरिएको छ। काष्ठमण्डपमा ठड्याइएका मूल थाम, मेथ र निदालमा किटनाशक औषधि र आलसको तेल लगाइएको छ। तीन वर्ष्भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रु १९ करोड ८८ लाख लाग्ने अनुमान महानगरले गरेको थियो। दैनिक ज्यालादारीमा भक्तपुरका दक्ष कालिगड पुनःनिर्माणमा खटिरहेका छन्।

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम