‘पहिले रोजकै ५/७ सय टुट्दैनथ्यो,मिठै खान्थें तर अहिले यस्तो हालत छ ।

49

जनकराज सापकोटा
काठमाडौँ — गौशालाको एउटा लज । फराकिलो कोठाको दुवै छेउमा लस्करै खाट छन् र त्यसमाथि केही थान खोल नहालिएका मैला सिरक । खाटको छेउमा टुसुक्क बसेका छन् झन्डै चार महिनादेखि दिनचर्या बिथोलिएका एक अधबैंसे । अस्पताल, प्रहरी चौकी र फेरि अस्पताल गर्दागर्दै थाकेका, पहिल्यै मरेको भए पनि हुन्थ्यो भन्दै आफैंसँग दिक्क मानिरहेका मान्छे । अर्थात् ६० वर्षीय छोटु ठाकुर ।

गत जेठ १२ गते । राजधानीका विभिन्न स्थानमा शृंखलाबद्ध विस्फोट भएको थियो । विस्फोटमा सबैभन्दा बढी क्षति भएको थियो सुकेधाराको सैलुनमा । त्यही सैलुनका मालिक हुन्, छोटु । नागरिकताको नाम जीवकुमार । छठको दिन जन्मिएकाले हजुरआमाले कहिल्यै नागरिकताको नामले बोलाइनन् । बिस्तारै छोटुकै नामले चिनिए ।

महोत्तरीका छोटुका निम्ति त्यो दिन अकस्मात् आएको घुम्तीजस्तो भइदियो । यतिबेला न उनी पुरानै दिनचर्यामा फर्कन सकेका छन् न आउँदो दिनको अनुमान गर्न सक्ने विन्दुमा छन् । अनेकथरी औषधिको डोज, कामविहीन भएर बस्नुपर्दाको झर्को र अरूसँग हात पसारेर दिन गुजार्नुको पीडाले भित्रैदेखि कोपरिरहेको छ तर उनीसँग केही विकल्प छैन ।

नेत्रविक्रम चन्द समूहले गरेको नेपाल बन्दको अघिल्लो दिन राजधानीमा शृंखलाबद्ध विस्फोट भएका थिए । अनामनगरस्थित एक घर र सुकेधारास्थित छोटुको सैलुनमा भने शक्तिशाली विस्फोट भएका थिए । सैलुनमा दुई जनाको घटनास्थलमै र दुई जनाको चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भयो । मारिनेहरूमा दिपिन विक, गोकुल रानामगर, निरन्तर मल्ल र रामकुमार श्रेष्ठ चन्द समूहका कार्यकर्ता रहेको प्रहरीले पुष्टि गरिसकेको छ ।
विस्फोटमा परेका छोटु पनि चन्द समूहसँग जोडिएको हुन सक्ने भन्दै प्रहरीले महिनौं अनुसन्धान गरिरह्यो । चार महिना बितिसक्दा पनि विस्फोटमा छोटुको संलग्नता पुष्टि भएको छैन, न त चन्द समूहसँग आबद्धता प्रमाणित भएको छ । प्रहरीले अझै उनलाई अनुसन्धान घेरामै राखेको छ ।

छोटुको स्मृतिमा त्यो दिनको धमिलो चित्र मात्रै छ । बिहानैदेखि सेवाग्राहीको लस्कर भएकाले उनी एक कप चियाको भरमा काम गरिरहेका थिए । दिउँसो ३ बजेतिर खाना खाएपछि पिसाब फेर्न बाहिर निस्केका थिए । पिसाब फेरेर फर्कंदा सैलुनमा तीन जना नयाँ मान्छे देखे । तिनीहरू कपाल कोर्दै थिए ।

दुई वर्षदेखि सुकेधारामा सैलुन चलाइरहेका छोटु आफूकहाँ आइरहने धेरैजसोलाई चिन्थे । ढोकाभित्र छिर्दै गर्दा उनले थाहा पाइहाले, तिनीहरूको मुखबाट रक्सीको गन्ध आएको थियो । अर्को एउटा मान्छे सैलुनको बीच भागमा पातलो प्लाइउडले बारेर भित्रपट्टि सुत्न बनाएको कोठामा छिरेको देखे । ‘रक्सी खाएका मान्छे देखेर मलाई डर लाग्यो,’ उनले भने, ‘बोल्नुभन्दा भाग्नु ठीक भनेर ढोकाबाहिर निस्कन खोज्दै थिएँ, एकैचोटि हुत्तिएर बाहिर बजारिएँ ।’

त्यतिबेला ठूलो आवाज आएको उनले बताए । उनलाई एउटा कुरा भने सम्झना छ, सैलुनभित्र बसेका तीनमध्ये एक जनाले छातीतिर फर्काएर झोला बोकेको थियो ।

घटनापछि उनलाई कसले, कसरी ट्रमा सेन्टर पुर्‍यायो, थाहा छैन । घटनापछिका चार महिना ट्रमा सेन्टरमा बिताए । दायाँ करङ, देब्रे खुट्टाको गोलीगाँठो र दाहिने हातको कुहिनामा गम्भीर चोट थियो । ‘कुइनोमा भी आकारको स्टिल राखिएको छ,’ उनले सुनाए, ‘दुइटा नसा काटिएको छ ।’

उनको दाहिने हात राम्ररी चल्दैन । उनको हर्थुंगो सेकाएपछि भुक्क उठेको रोटीजस्तो देखिएको छ । औंला सुस्तरी चल्छन् तर तिनले कुनै सामान उठाउन सक्दैनन् । ‘रातभर औंला कटकट खान्छ,’ उनले भने, ‘त्यतिबेला दाहिने हातको पाखुरा फुकालेर फाल्दिमजस्तो हुन्छ ।’

उनको दाहिने कोखाको करङ दुखिरहन्छ । देब्रे खुट्टाको गोलीगाँठानेरको भाग झट्ट हेर्दा सञ्चो भएजस्तो देखिन्छ तर दुखाइ घटेको छैन । ‘खुट्टा भतभत पोल्छ, भित्र घाउ निको भएको छैन,’ उनले भने ।

जीउको दुखाइ कम गर्न चिकित्सकको सल्लाहबिना पनि औषधि खाएका रहेछन् । वर्षौंदेखिका मुटुका बिरामी उनले दुखाइ कम गर्नकै लागि १५ दिनसम्म पेनकिलर खाएको सुनाए ।

चार महिना लामो उपचारपछि छोटु साउन २९ मा डिस्चार्ज भएका थिए । अस्पतालले डिस्चार्ज हुन सक्ने भनेको कैयन् दिनसम्म पनि अस्पतालमै बेवारिसजस्तै पल्टिरहे । साउन अन्तिम साता ट्रमा सेन्टरको बेड नम्बर ६३० मा भेट्दा उनी आलसतालस अवस्थामा थिए । गोजीमा सुको थिएन, परिवारका सदस्य पनि नियमित सम्पर्कमा थिएनन् । अस्पतालबाट निस्केर जाने ठाउँ नभएपछि र लैजाने कोही मान्छे नभएपछि डिस्चार्ज भनेको झन्डै एक सातासम्म अस्पतालकै बसिरहे ।

एक दिन नेपाल नाई ट्रेड युनियन संघका अध्यक्ष गजेन्द्र ठाकुर उनलाई लिन आए । छोटुले भने, ‘विस्फोटपछि प्रहरीले मेरो मोबाइल, १०/१२ हजार पैसा, पासपोर्ट र नागरिकता राखेको छ । त्यो पैसा निकाल्न पाए, केही दिनको खर्च चल्थ्यो ।’ छोटुको कुरापछि गजेन्द्रले उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्ज लिएर गए । विस्फोटपछि यही वृत्तले छोटुमाथि अनुसन्धान गरिरहेको थियो र घटनासम्बद्ध सबै फाइल यहीँ थिए । उनीहरूले वृत्तमा पुगेर पैसा र कागजात पाउन सकिन्छ कि भनेर सोधे ।

प्रहरीले गम्भीर घटनाको प्रतिवादी भन्दै छोटुलाई थुनामा राख्यो । त्यसपछिका १३ दिनसम्म उनी थुनामै बसे । न उनलाई कोही भेट्न आयो न कसैसँग सम्पर्क गर्नै पाए । छोटुले सुनाए, ‘मेरो अनुसन्धान कहिले सकिन्छ भन्दा पनि प्रहरीले केही बताएनन् ।’ प्रहरीले उनलाई बेलाबेला अदालत लैजान्थे । ‘जति अनुसन्धान भने पनि प्रहरीले ममाथि लगाएको आरोप पुष्टि गर्न सकेन,’ उनले भने, ‘मैले केही गरेकै छैन । म त आफैं पीडित छु ।’

१३ दिन राखेपछि प्रहरीले उनलाई थुनामुक्त गरिदियो तर जाने ठाउँ थिएन । उनले झन्डै ८ लाख खर्चेर बनाएको सैलुन भताभुंग भइसकेको थियो । घटनापछि फर्केर त्यहाँ पुग्न सकेका छैनन् । जीवनभरको कमाइले जोडेको ठूल्ठूला ऐना, कपाल काट्ने सामान, घुम्ने कुर्सी कहाँ छन्, कसले लग्यो, के भयो, उनलाई केही थाहा छैन । ‘एउटा फलामको र अर्को ६० हजारमा किनेको नयाँ हाइड्रोलिक कुर्सी थियो,’ उनले भने, ‘त्यो कसले उठायो, कता छ, केही पत्तो छैन । छोटुले नेपाल नाई ट्रेड युनियनका अध्यक्षलाई सम्पर्क गरे । अध्यक्ष गजेन्द्रले अनामनगरस्थित कार्यालयमा ल्याएर केही दिन राखे । कार्यालयमा बस्न अप्ठ्यारो भएपछि उनैले छोटुलाई गौशालाको एउटा लजमा बस्ने व्यवस्था मिलाइदिएका छन् । दैनिक डेढ सय रुपैयाँ तिरेर छोटुले लजमा रात गुजारिरहेका छन् । उनैले अनेकतिरबाट मागेर र सापटी गरेर छोटुका निम्ति दबाई र बिहान–बेलुकी खानाको जोहो गरिदिएका छन् । दैनिक ६ थरी औषधिको डोजले उनलाई शरीर पनि आफ्नो जस्तो लाग्न छाडेको छ । छोटु गौशालाको एउटा कुनादेखि अर्को कुनासम्म बिरामी हातखुट्टा लिएर सुस्तरी चहार्छन् । कहाँ सस्तोमा भात पाइन्छ, कहाँ रोटी थपेर खाँदा पैसा कम लाग्छ भन्ने खोजी हिँड्छन् । शुक्रबार भेट्दा अध्यक्ष ठाकुरले दिएको ५ सय रुपैयाँ के–केमा कसरी खर्च भयो भनेर सुनाउँदै थिए । ‘पहिले रोजकै ५/७ सय टुट्दैनथ्यो, पैसा नकमाए पनि खानाको दु:ख थिएन,’ उनले भने, ‘मिठै खान्थें तर अहिले यस्तो हालत छ ।’

गौशालाछेउमै भएकाले छोटु केही दिनको अन्तरमा पशुपतिनाथ मन्दिर धाउँछन् । शुक्रबार पनि उनको निधारमा चन्दनको टीका थियो । ‘समय कटाउन मन्दिर जान्छु,’ उनले भने । कुरै कुरामा उनले पशुपतिनाथसँग भाकल गरेको कुरा बताए । भने, ‘म पहिलेको जस्तै भएँ भने २१ सय रुपैयाँ शुल्क तिरेर विशेष पूजा गराउँछु भनेको छु ।’

छोटु बसेको लजको भुइँ कोठामा एउटा सैलुन छ । उनी समय कटाउन दिउँसोतिर त्यही सैलुनभित्र बस्छन् । नाईले अरूको कपाल काटेको, दाह्री मिलाएको टुलुटुलु हेर्छन् । त्यतिबेला उनलाई जुरुक्क उठेर औंलाको लयमा कैंची चलाऊँजस्तो लाग्छ । सुस्तरी औंला उचाल्न खोज्छन् तर यसरी दुख्छ, मानौं उनको कुइनोदेखि औंलासम्म तार जोडिएको छ र औंला उचाल्दा त्यो तार आफैं तानिन्छ ।

त्यो दिनको विस्फोट, महिनौं लामो अस्पतालको बसाइ, उपचार खर्च नहुँदाको छटपटी र अस्पतालमा छोरी कुर्न बस्दाको त्रासदी समय । छोटुलाई सबै कुरा सपनाजस्तो लाग्छ । विस्फोटको कैयन् घण्टापछि मात्रै उनी राम्ररी होसमा आएका थिए । अस्पताल बसाइको पाँच दिनपछि मात्रै थाहा पाएका थिए, उनको छेवैमा उनको निगरानी गर्न प्रहरी २४ सै घण्टा बसिरहेका हुन्थे । उनले स्वर सानो पारेर भने, ‘मलाई कुर्न आएकी छोरी मेरै बेडछेउको भुइँमा सुत्थी । नजिकै प्रहरी जवान देख्थें । म जवान छोरी सम्झेर पटक्कै निदाउन सक्दिनथें ।’ महोत्तरीबाट छोरा आएर कुर्न थालेपछि मात्रै छोटु राति राम्ररी निदाउन सके ।

शरीरको दुखाइले भन्दा बढी उनलाई उपचार खर्चमा लागेको ऋणले पोलेको छ । ४० दिनको अस्पताल बसाइमा औषधि र अन्य खर्च गरी करिब ७ लाख रुपैयाँ सकियो । त्यति धेरै रकम कसरी जुटाए त ? छोटुले भने, ‘श्रीमती, छोरी र बुहारीका सबै गहना बेचें । त्यतिले नपुगेर ५ कट्ठा जमिन दृष्टिबन्धकी राखेर ५ लाख रुपैयाँ निकालेको छु ।’ उनको अब तीन कट्ठा जमिन बाँकी छ । चार नाति–नातिना स्याहारिरहेका छोरा, बुहारी, श्रीमती र काठमाडौंमा पढिरहेकी छोरीलाई आफ्नै कारण दु:ख भएकामा उनी पिरोलिन्छन् ।

घटनापछि छोटुको उपचार खर्च बेहोर्दा परिवारका सदस्य थाकिसकेका छन् । उपचारको बोझ, निरन्तर प्रहरीको निगरानी र ऋण थुप्रिँदै जाँदाको पीरले उनी पनि आत्तिइसकेका छन् । त्यही भएर उनको परिवारका सदस्यसँग सम्बन्धको डोरी खुकुलो हुँदै गएको छ । आफ्नै छोराछोरी स्याहार्दाको झन्झटमा अल्झेको छोरा महोत्तरीबाट काठमाडौं आउन सकेका छैनन् । श्रीमतीलाई बोलाए कहाँ राख्ने भन्ने टुंगो छैन । पढाइको बोझ र बाबुको उपचारको हैरानीले थाकेकी छोरीको छुट्टै व्यथा छ । ‘यो सबै सम्झँदा त म घटनाकै दिन मरेको भए पनि हुने भन्ने लाग्छ,’ उनले भने, ‘केही दिन रुन्थे, सकिन्थ्यो तर यसरी ऋणले थिच्दैनथ्यो ।’

राजनीतिप्रति कत्ति रुचि नभएका उनलाई देशमा के भइरहेको छ भन्नेबारे मेसो छैन । स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनमा भने उनले महोत्तरी पुगेरै भोट खसालेका थिए । त्यतिबेला सँगै रहेकी छोरी र श्रीमतीलाई पनि भोट खसाल्न लगेका थिए । ‘१५/१६ हजार खर्चेर भोट हालेर फर्कें तर मेरो भोटले मलाई के भयो त ?’ उनले उत्तर पाएका छैनन् । विस्फोटपछि छोटुलाई भेट्न उनको निर्वाचन क्षेत्रका सांसद गिरिराजमणि पोखरेल आएका रहेछन् । ‘सान्त्वना त दिएर गए,’ उनले भने, ‘त्यसपछि केही गरेनन् ।’

छोटुको उपचारमा सहयोग होस् भनेर नेपाल नाई ट्रेड युनियनले गृह र स्वास्थ्य मन्त्रालयमा निवेदन दिएको थियो । स्वास्थ्यले ट्रमा सेन्टरलाई पत्राचार गरी विपन्न नागरिक औषधि उपचार कोषबाट सहयोग गरिदिन अनुरोध गरेको थियो । अनुरोधपछि उनले केही औषधिमा छुट पाए । युनियनले छोटुलाई आर्थिक सहयोग गरिदिन भन्दै असार १० मा गृह मन्त्रालयमा निवेदन दिएको थियो । गृहको शान्तिसुरक्षा महाशाखामा उनको निवेदन दर्ता पनि भएको थियो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि छोटुको विगत राम्रो रहेको र चालचलनमा कुनै खोट नरहेको पत्र गृह पठाएको थियो । छोटुको सैलुनमा भएजस्तै विस्फोट फागुन २४ मा वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको बसुन्धरास्थित घरमा भएको थियो । विस्फोटको दुई महिना नबित्दै वैशाख २० को मन्त्रिपरिषद्ले गुरुङलाई ३० लाख क्षतिपूर्ति दिएको थियो ।

आठ वर्षको उमेरदेखि छोटुको काठमाडौंसँग साइनो छ । उनी २०३० सालअघिको समयतिर फर्किए । उनका पिता छुरा बोकेर गाउँमा दाह्री–कपाल खौरिन हिँड्थे । साहु–महाजन र अन्यको कपाल काटेबापत उनको परिवारले बर्सेनि एक बालीको केही पसेरी अन्न पाउँथ्यो । बेलाबखत बुवासँग किचमिच पर्थ्यो उनी भागेर काठमाडौं आउँथे । केही महिना सैलुनमा काम गर्थे र केही पैसो जम्मा पारेर महोत्तरीको रामनगरस्थित घर पुग्थे ।

काठमाडौंमा उनले कतिको कपाल मिलाए, अनुहार चम्काए, हिसाबकिताब छैन । सामान्यदेखि पहुँचवालासम्म, नेतादेखि कर्मचारीसम्म सबैका टाउकामा उनले कैंची चलाएका छन् । तत्कालीन राजा वीरेन्द्रका घट्टेकुलोमा घर भएका एडीसीको त उनी घरमै गएर कपाल काट्थे । जान–अञ्जान हजारौंको कपाल काटे पनि यतिबेला उनको दु:ख सुन्ने र सान्त्वना दिने कोही छैनन् । कान्तिपुर

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम