विदेशबाट रित्तो हात : काम दिए, पैसा दिएनन्

16

पात्र १

विरक्तिएको मन लिएर कतारबाट हालै नेपाल फर्किएका छन्, कपिलवस्तुका हबिब जल्लाह । हुलिया हेर्दा निकै सिधासाधा देखिन्छन् । छन् पनि त्यस्तै ।

उनको साथि रोशन परमानीको भनाइमा हबिब नौलो ठाउँमा साथीविना हिँड्दा बाटो भुल्छन् । त्यसमाथि निरक्षरसमेत छन् ।देशभित्र पाखुरा बर्जा नपाएपछि ६ महिना अगाडि उनी कतार उडेका थिए । केही वर्ष त्यहाँ पसिना बगाएर आफ्नो र परिवारको दयनीय ‘अर्थतन्त्र’ माथि उकास्ने लक्ष्य थियो । तर, ६ महिनामै स्वदेश फर्किन वाध्य भए । यो अवधिमा उनले पैसा कमाउने भन्दा उल्टै ऋणको भारी थपेर आएका छन् । त्यसैले उनलाई आजभोलि भोक–निन्द्रा केही छैन ।

‘आफन्तसँग ऋण लिएर उडेको थिएँ, एक रुपैयाँ तिर्न नपाई फर्किनुपर्‍यो, घरमा के मुख लिएर जाने हो थाहा छैन,’ हबिब दुःख पोख्छन् ।

उनले कतार पुग्नुअघि नेपालमा पनि अनेकन हण्डर खेपेका थिए । दलाल र म्यानपावर कम्पनीले झुलाउँदा–झुलाउँदै उनलाई दिक्दार लागिसकेको थियो । तर, जब कतारको भिसा आयो, उनले आँखा चिम्लिएर दलाल र म्यानपावरको कुरा पत्याए अनि उडे ।

सयकडा तीनको ब्याजमा ऋण लिएको १ लाख ३० हजार रुपैयाँ म्यानपावरलाई बुझाएर कतार उत्रिँदा हबिबलाई लागेको थियो, ‘अब त फटाफटी पैसा कमाएर सबै व्यवहार मिलाउँछु ।’

तर, ६ महिनासम्म जोतिएर काम गर्दा पनि हबिबको खल्तीमा एक रुपैयाँ परेन । रोजगारदाताले काम दियो, तर पैसा दिएन । अन्ततः कुनै उपाय नलागेपछि रित्तोहात फर्किने निर्णय गरे । हवाई टिकट किन्दा उल्टो ऋण थपियो । पारिश्रमकको लागि कतारमा विभिन्न निकाय धाउँदा पनि धेरै खर्च भयो ।

कम्पनीबाट पारिश्रमिक पनि नपाउने र त्यसको उजुरी गर्दा कुनै निकायले न्याय पनि नदिने अवस्था रहेपछि उनी ऋण थपेर नेपाल फर्किएका हुन् । मदिना खलिफा म्यानपावरबाट ‘अल करिम मुलमान कम्पनी’ मा गएका हबिबलाई अहिले बेक्कार गइएछ भन्ने लागेको छ । तीन सन्तानका बाबुलाई अहिले एउटै चिन्ता छ, ‘विदेश जाँदा लागेको २ लाखभन्दा बढी ऋण कसरी तिर्ने ?’

पात्र २

हबिबसँगै रोशन परमानी पनि ९ महिनाअघि कतारको सोही कम्पनीमा काम गर्न पुगेका थिए । गज्जबको कमाइको आश देखाएर कतार लगिएका रोशन पनि हबिबकै हालतमा फर्किनुपर्‍यो । धनुषा घर भएका उनी यसअघि सन् ११९६ देखि २०११ सम्म कतार नै बसेका थिए ।

पहिले राम्रो कमाइ गरेर आफ्नो जीवनस्तर सुधारेका रोशनलाई यसपटक यति नराम्रोसँग ठगिन्छु भन्ने लागेकै थिएन । महिनामा १५ सय रियाल भन्दा बढी कमाइ हुन्छ भनेपछि उनले १ लाख १० हजार म्यानपावरलाई बुझाएका थिए ।

 

तर, उनले त्यहाँको अस्थायी बसोबास अनुमतिपत्र (एकामा) पाएनन् । त्यसमाथि तलब पनि हात परेन । ३ महिनासम्म पनि तलब नआएपछि कम्पनीको विरोधमा उत्रिए । बल्लतल्ल बल्ल ३ महिनाको हात लाग्यो । त्यसपछि भने कम्पनीले एक पैसा दिएन ।

कम्पनीले असाध्यै दुःख दिएपछि उनी कतारको श्रम अदालतसम्म पनि पुगे । हबिब र रोशनसहित ४ जना मिलमेर कतारको न्यायिक निकायमा उजुरी गर्दा पनि सुनावाई नै भएन ।

तलब नआएको समयमा उनीहरुले स्थानीय क्षेत्रमा बस्ने नेपालहरुको सहयोग लिएका थिए । उनीहरुले सहयोगको रुपमा दिएको थोरै पैसा र खानाका भरमा बसिरहे ।

कम्पनीमा पटक–पटक आग्रह गर्दा पनि काम गरेको पारिश्रमिक दिन आनाकानी भइरह्यो ।

‘निकै कष्टसाथ बस्यौं, ज्यान बचाउन रुख्खासुख्खा खायौं,’ रोशन भन्छन्, ‘हामीलाई फिर्ता गर्न म्यानपावरले सघाएन, दलाल पनि पन्छियो ।’

हबिब र रोशनलाई उल्टै मुद्दा मामिला नगर्न म्यानपावर र र दललले पटक–पटक दबाव दिएका छन् ।

पात्र ३

साउदीबाट फर्किएका सोभन साहा रौनियारको पनि कथा उस्तै छ । २४ महिनाको लागि काम गर्न साउदी पुगेका उनलाई ३८ महिनासम्म नेपाल आउन दिइएन । उनलाई त्यहाँ अल्झाएर राख्न कम्पनीले एउटै अस्त्र प्रयोग गर्‍यो, त्यो थियो तलब रोक्ने ।

जगन म्यानपावरबाट ७० हजार बुझाएर साउदी पुगेका थिए, सोभन । उनलाई भनिएको थियो, पसलमा ‘सेल्स म्यान’को काम गर्नुपर्छ । तर, साउदी पुगेपछि उनलाई थाहा भयो, नमज्जाले झक्याएछन् । किनभने उनलाई रियादबाट झण्डै ४ सय किलोमिटर पर लगियो । त्यहाँ उनले खेतबारी (मजरा)मा काम गर्नुपर्‍यो ।

कुनै विकटजसतै लाग्ने क्षेत्रमा पुगेपछि उनी सुरुमा अत्ताल्लिए । तर, उनीसामु कुनै अर्को विकल्प थिएन ।

६ महिनापछि बल्ल उनलाई १३ सय रियाल दिइयो । त्यसपछि उनले आफ्नो पारिश्रमिक पुरै दिन ताकेता गरिरहे । तर, उनलाई तलब नदिइकनै ३६ महिनासम्म राखियो ।

उनले पारिश्रमिक लिएर घर फर्किन निकै जोड जबरजस्ती गरेपछि उनलाई २४ महिनाको तलब एकसाथ भुक्तानी दिइयो । बाँकी १८ महिनाको तलब उनले पाएनन् । जति रोइकराई गर्दा पनि उनको कुरा सुनिएन ।

तर, घर फर्किनुपर्ने बाध्यतामा सोभनले आफ्नो झण्डै ५ लाख तलब माया मारेर फर्किए । उनले ५० डिग्रिभन्दा बढीको घाममा गरेको झण्डै १८ महिनाको मिहिनेत साउदीकै मरुभूमिमा बिलायो । आफ्नो पसिना र रगत मूल्यहिन बन्दा उनी निकै खिन्न छन् ।

पात्र ४

मलेसियाबाट फर्किएका दिनेश खड्काले पनि यस्तै नियति भोगेका छन् । बिराटनगरबाट मलेसिया लैजान फकाउने क्रममा दलालले उनलाई फर्निचरको काम गर्नुपर्ने भनेको थियो ।

मिथिला म्यानपावरमा १ लाख ४० हजार बुझाएपछि उनको भिसा लाग्यो । तर, त्यहाँ पुगेपछि उनले आफूले जानेको काम गर्न पाएनन् । उनलाई ह्युम पाइप बनाउने कम्पनीमा काम लगाइयो ।

गुनासो भए पनि घर धितोमा राखेर मलेसिया पुगेका दिनेशले फर्किने आँट गरेनन् । सुरुको १२ महिनमा त उनले फटाफट तलब पाएकै थिए ।

 

तर, एक्कासी कम्पनीले तलब दिन बन्द गर्‍यो । उनी समस्या परे । कम्पनीले तलब बन्द गरेपछि हातमुख जोर्न नै समस्या पर्‍यो । त्यसपछि साथिभाईसँग मागेर खानुपर्ने अवस्थाले उनलाई पिरोल्यो । ४ महिनासम्म तलब रोकिएपछि उनी पनि ऋण गरेरै स्वदेश फर्किएका छन् ।

कतारको हण्डर खेपेर फर्किएका रोसन कामदारको हक हित संरक्षणमा सरकार चुक्दा यस्तो अवस्था आएको बताउँछन् ।
‘कहिलेसम्म हामी जस्ता गरिब कामदारले ५० डिग्रीको घाममा अरुका लागि सित्तैमा रगत र पसिना बगाउने ?’ उनी प्रश्न गर्छन्, ‘काम गरेको पैसा पाउन पनि ज्यानको बाजी थाप्नुपर्ने ?’

०००

कमजोर आर्थिक धरातलका नेपाली युवाका बाध्यात्मक गन्तब्य हुन् मलेसिया र खाडी देशहरु । स्वदेशमा भनेजस्तो रोजगारी नपाएपछि जवानीको उर्जा विदेशी भूमिमा पोखेर सुखी भविष्यको कल्पना गरेका हुन्छन् उनीहरुले । विदेशमा काम गरेअनुसार पैसा पनि चित्तबुझ्दो पाइन्छ भन्ने अधिकांसको विश्वास हुन्छ ।

तर, धेरै देशमा नेपाली कामदारहरु रोजगारदाताबाट समयमा पैसा नपाउने र कतिपय त रित्तो हात फर्किनुपर्ने अवस्थामा छन् । यो समस्या पछिल्लो सयममा झन् बढ्दै गएको छ । नेपाली दूतावासहरुमा यस्ता समस्या लिएर पुग्ने कामदारले पनि खासै सहयोग पाउन सक्दैनन् ।

प्रवासी नेपाली समन्वय समितिमा परेका उजुरीको आधारमा भएको अध्ययनले यस्तो समस्याा सबैभन्दा धेरै कतारमा रहेको देखाउँछ । तर, कोरिया, साउदी र मलेसियामा पनि उत्तिकै संख्यामा समयमा पारिश्रमिक नपाउने कामदारहरु भेटिएको बताउँछन् समितिका अध्यक्ष कुलप्रसाद कार्की । कोरियामा खासगरी भिसाको म्याद सकिएर पनि काम गरिरहेका कामदारहरुले यस्तो समस्या झेल्छन् ।

एक वर्षको अवधिमा समितिमा विदेशबाट २५४ वटा पारिश्रमिकका विषयमा गुनासो दर्ता भएको थियो । त्यसमध्ये १४ जना महिला थिए भने २४० जना पुरुष कामदार थिए ।

कुल उजुरीको ६७ प्रतिशले कम्पनीको हेपाहा प्रवृत्ति र लापरवाहीका कारण आफूले तलब पाउन नसकेको बताएका थिए । यस्तै १५ प्रतिशतले काम गरेको कम्पनी बन्द हुँदा तलव पाउन वञ्चित भएका थिए । अध्ययनअनुसार घर फर्किने अडानका कारण तलव रोकिएको गुनासो १० प्रतिशतले गरेका छन् भने ८ प्रतिशतले करारभन्दा फरक काम गर्नुपरेपछि विरोध गर्दा तलब रोकिएको सुनाएका छन् ।

‘कामदारले यस्ता समस्या सुरुमा म्यानपावर कम्पनीमा राख्छन्, तर कम्पनीबाट कसैको समस्या पनि सुनुवाई भएको देखिँदैन,’ अध्यक्ष कार्की भन्छन्, ‘केहीका परिवारले वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गर्नुभएको पाइयो । जसमध्ये ६ प्रतिशतले मात्र आफूले दाबी गरेअनुसारको क्षतिपूर्ति प्राप्त गरेको देखिन्छ ।’

कामदारहरुले वैदेशिक रोजगारमा जानुपूर्व करारनामा विस्तृतमा नहेर्ने र कम्पनीको बारेमा जानकारी पनि नलिने गर्दा यस्तो समस्या झांगिएको समितिको निश्कर्ष छ ।

धेरै कामदारले समस्या समाधानका लागि गन्तव्य मुलुकमा दूतावास, श्रम अदालत, मानव अधिकार आयोग लगायतका निकायसँग सहयोग पनि लिने गरेका छैनन् । पछिल्लो समय मलेसियामा नेपाली कामदारहरु नगएका कारण त्यहाँ पहिलेदेखि भएका कामदारहरुलाई राखिरहन पारिश्रमिक रोक्ने गरेकाले सरकारको यसतर्फ ध्यान जान आवश्यक रहेको अध्यक्ष कार्कीले बताए ।

कम्पनीहरुको माग प्रमाणीकरणका क्रममा यस्ता पक्षलाई विशेष महत्व दिन पनि जरुरी रहेको अध्ययनको निश्कर्ष छ । यस्ता समस्या समाधानका लागि गन्तब्य मुलुकसँग श्रम सम्झौता गर्ने कामलाई पनि सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव विज्ञहरुको छ । @ onlinekhabar.com

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम