यस्ता सपना किन देखिन्छन् ? सपनामा के देखे राम्रो, के नराम्रो !

858

न्युज २४ : “चोर आयो ! चोर आयो !” कलैया बजारमा चिया बेच्ने पिंकीको यो आवाजले एक रात छरछिमेकका सबैजना उठे । लाठोमुङ्ग्रो लिएर एक दर्जनजति मानिस यता र उति खोज्दै कराउँदै गर्नथाले । केही पत्तो नलागेपछि उनीहरू घरतर्फ लागे । उनको सपनामा चल्ने-बोल्ने समस्या रहेको हजुरबाबैले भोलिपल्ट बिहान सुनाउँदा पो सबै जना चकित हुन्छन् ।

 

सुनसरीका युवा कवि एबम् सामाजिक समन्याय अभियन्ता जी एन शर्माका अनुसार सपनाले मान्छेका मनोवृत्ति विम्बित गर्दछन् । झ्वाट्ट सम्झदा सामान्य लागे पनि कतिपय अवश्थामा सपना विशेष भैदिन्छ । व्यक्तिको अवश्था, चाह, प्राप्ति, चिन्ता आदि तत्त्वले देखिने सपनाको स्वरूप निर्धारण गर्दछ । सही विश्लेषणको जरुरी छ । पोखरा लेकसाइडका सम्पूर्ण गुरुङ भन्छन्, “म त प्राय: सपना नै देख्तिनँ । देखे पनि बिर्सिहाल्छु । अलि अस्ति नै एउटा देखेँ ।

त्यसमा त म नेपाल सुन्दरीलाई हातमा लिएर कता-कता सेतै हिमालमाथि उड्दैथिएँ । खोई अरु सम्झन सकिनँ । खासै वास्ता गरिन्न ।” सपनाका यस्तै-यस्तै पहेलुहरूले यसलाई धेरैको चासो, आशो र गुनाशोको विषय बनाइदिने गरेको मानिन्छ !

सपना के हो ?

स्वप्न, स्वप्ना वा सपना मस्त निदाएका बेला महशुस गरिने विभिन्न आकृति-प्रकृतिको मानसिक झल्को हो । यो ड्रिम हो, र मेन्टल रिवेरी हो ! मृगतृष्णा हो । विभ्रम हो । बिपनाको उल्टो हो । अनि यथार्थ अर्थात् हकिकतको विपरितार्थी शब्द र त्यसले दिने बोधार्थ हो ! कतिपयले यसलाई बह वा मनोबह आदि नामले पनि सम्झना चाहन्छन् । पंक्तिकार यसलाई यथार्थ र कल्पनाको दोसाँधे झझल्को मान्दछन् ।

तर, यो दिवास्वप्न भने होइन । भनिन्छ कि दिवास्वप्न देख्ने मान्छे आफूले सोचेको कुराको चेत राख्तछ, जब कि सपना देखिरहेको मान्छे म सपना देखिरहेको छु भन्ने जानकारी राख्तैन । दिउसै सपना देख्नु राम्रो पनि मानिदैन ।

सपना किन देखिन्छ ?

भनिन्छ सपना देखे सुने पढे बुझे सोचेकै परिधिभित्रबाट देखिन्छ । व्यक्तिका मनका चाहना, भावना, र कल्पनाको खेलका कारण र अझै भन्नुपर्दा त्यस्ता विषयमार्फत् महशुस गरिने वा हुने डर वा दुर्बलताका कारण सपना देखिन्छ । आधुनिक मनोवैज्ञानिकहरूका अनुसार सुतेको समयमा अनुभूति गरिने दृश्यचेत सपना हो । निन्द्राका विभिन्न चरण हुन्छन् र चीर निन्द्राको चरणमा सपना देखिन्छ ।

मानवशास्त्रका कुशल अध्येता एबम् प्रखर वक्ता दिवाकर शर्मा भन्छन् : सपना यौटा मानसिक बिरामीले महशुस गर्ने दृश्य-भ्रम हो । पूर्ण स्वस्थ मानिस सपना देख्तैन, देखिहाले पनि सम्झेर बस्तैन । भुसुक्क निदाउन नसकेका तन्द्रामा भएका मानिस सपना देखेको भन्छन् तर मगजमा थरीथरी कुरा सोचेर बस्ने हुनाले त्यस्तो सोच दृश्यमा आएको अनुभूति गर्छन् ।

कस्ता सपना प्राय सत्य हुनेगर्छन् ?

शारीरिक वा जैविक प्रकृतिका सपनाहरू धेरैजसो यथार्थसँग जोडिएका हुन्छन् ! उमेर अनि अवश्थाले प्रभाव पार्ने त्यस्ता सपना नकार्न सकिंदैन । धेरैजसो केटाकेटीहरू पर कतै पिसाप गरेको सपना देख्छन् र बिपनाको आफ्नो ओच्छ्यान भिजेको पाउँछन् ।

पिसाप चेपेर सुतेको मान्छे अवाश्यमेय बाढी आएको वा खाल्टाखुल्टीमा यात्रा गर्दा थतर्किएर तल्लो पेटमा अप्ठ्यारो भएकै सपना देख्छ र कुनै कारणवश ब्युँझिएर शौचालय जानैपर्ने स्थिति प्राप्त गर्ने हुन्छ । यसैगरी, वयस्कावश्थाका मानिसहरू सोचेकै वा अन्य प्रकारका व्यक्तिहरूसँग सहवाश गरेको वा जिस्किएको सपना देख्छन् अनि बिपनामा लगभग स्खलित सेपमा भेटिएका प्रमाणसमेतले के जैविक सपना सोझै सत्य प्रतीत लाग्दछन् ।

स्वस्थ मानिसले आरामदायी तन र खुशी मनमा मस्त निदाएको र निद्रित अवश्थामा तथा देवत्व भावमा गएको बेलामा देखेको सपना प्राय सत्य हुने गरेको बताइन्छ । यस्ता स्वस्थ सपनाहरू नै वार्ता र अध्ययनलाई उत्तम मानिन्छन् । मन खेलेको नभई आत्माको अटालीबाट देखिएको सपना शुभ हुन्छ भन्ने शास्त्रीय मत सान्दर्भिक छ ।

अर्कातर्फ, शारीरिक दुर्बलता रहेका अनि मनोरोगीहरूले भने जति बेला देखे पनि उनीहरूका सपनाले खासै फल नदिने विचारकहरू बताउँछन् । अन्य विकारयुक्त समय र अवस्थाका सपना निरर्थक मानिआइएको सर्ब विदितै छ । डरलाग्दो सपना देख्ता शरीरमा पसिना वा चिट्चिट अवस्था हुनु र थकान महशुस गर्नु अर्को सत्य पाटो भन्न सकिन्छ पनि !

कस्तो बेलाको सपना फलदायी हुने ? कस्तो नहुने ?

कुरो विश्वाशको हो ! स्वस्थ मानिस मस्त निदाएको र निद्रित अवश्थामा देवत्व भावमा गएको बेलामा देखेको सपना वार्ता र अध्ययनलाई उत्तम मानिन्छ ।

प्राय मस्त निदाएको बेलाको भुसुक्क निदाएको मध्यअवस्थाको र त्यो पनि मध्यराततिरको सपना राम्रो भए फलदायी मानिन्छ । मन खेलेको नभई आत्माको अटालीबाट देखिएको सपना शुभ हुन्छ भन्ने शास्त्रीय मत सान्दर्भिक छ । अर्कातर्फ, शारीरिक दुर्बलता रहेका अनि क्रोध तथा कामोत्तेजना साँधी हिंड्नेजस्ता मनोरोगीहरूले भने जति बेला देखे पनि उनीहरूका सपनाले खासै फल नदिने विचारकहरू बताउँछन् ।

अन्य विकारयुक्त समय र अवस्थाका सपना निरर्थक मानिआइएको सर्ब विदितै छ । नारायण निरौलाका अनुसार सपना दिव्य चक्षु हो । यसको शुभाशुभ फल अवस्थाअनुसार भिन्न-भिन्न हुन्छ । मध्य निद्रामा देखेको सपनाको मात्र सही फल घट्ने भएकाले सर्व प्रथम कस्तो अवस्थामा सपना देखिएको हो विचार गर्नु पर्दछ ।

निरोगी स्वस्थ अवस्थामा चिर निद्रामा देखिएको सपना फलदायी हुने भएकाले विज्ञ व्यक्तिसँग परामर्श गरेर मात्र फल श्रवण गर्नु उपउयुक्त हुन्छ । किनकि अवस्था अनुसार फल भिन्न-भिन्न हुन्छन् ।

 

सपनामा के-के देखेको राम्रो ?

दियो वत्ती बलेको देखे राम्रो !
किताब, जलको घडा र लाएको गरगहना देखेको राम्रो !
खुला आकास, अनि प्रकाशजन्य जून, तारा आदि पिण्ड देखे उन्नति हुने !
जुका, सर्प, विच्छि देखे राम्रो, त्यस्ता जीवले टोकेको देखे झन् राम्रो। अझ सेतो सर्पआदिले टोके तुलनात्मक रूपमा बढी फलदायी हुने !
सुकन्या, हँसिलो बालक अनि स्वस्थ एबम् सफा मान्छे देखेको राम्रो !
जल निकालेको विद्युत प्रवाह गरेको देखे धन लाभ हुन्छ ।
ओछ्यान लगाएको राम्रो अनि मरेको देखियो भने झन् आयु बढ्ने । मरेको मान्छेसँग बोलेको शुभ मानिने !
फल र फूल लागेको वृक्ष शुभ मानिने अनि सेतो अथवा पहेलो फूलको माला राम्रो मानिने ! अनार आदि फल खाएको झनै राम्रो मानिएको !
गाई, घिउ, सेतो घर, आगो बलेको देखिए शुभ हुने ।
हात्ती अनि घोडा चढेको राम्रो ! नुहाएको अनि मेहन्दी लाएको विहे हुने संकेत !
सपनामा नदी वा तलाउमा पानी देखिएको राम्रो मनको संकेत ! छहरा देखियो, पानी नाचेको देखियो, जस्तै होस् आफैं पौडिएको देखियो, पारी तरेको देखियो, सिर्जना र सफलताको संकेत !
पान चबाएको, दही खाएको, खीर अनि चाम्रे तथा अन्य मिश्टान्न खाएको र पानी पिएको देखे राम्रो !
विषय प्रसंगले राम्रो मानिने उज्ज्याला चम्किला बुट्टे अनि राम्रा स्वास्थ्यबर्द्धक कुरा, पूजापाठ देवता आदि देखेको, पहाड चढेको, चङ्गा उडाएको अनि उत्तरतर्फ हिंडेको प्राय राम्रो !
सपनामा के-के देखेको नराम्रो ?

भोक, निद्रा, अल्छी अवश्था अनि कठोर यातना आदि देखेको भोगेको नराम्रो !
प्यासी अवस्था पनि नराम्रो !
टोलमा आगो लागेको, डढेलो लागेको आदि अशुभ मानिने !
कालो मोसो, त्यस्तो मसी, त्यस्तो भैंसी, बत्ती निभेको देखेको वा अँध्यारो देखेको नराम्रो ।
धमिलो आकाश र प्रकाशपुञ्ज मधुरो देखे चिन्ता बढ्ने तथा केही अनिष्ट हुने ।
रातो तथा कालो फूलको माला, मास आदि देखिए केही समस्या हुनसक्ने ।
पानी परेको देखियो भने अस्वस्थता बढ्नसक्ने ।
दाँत झरेको, अङ्ग भङ्ग भएको, कपाल झरेको, रगत बहेको, पसिना आएको देखिए विरामी हुनसक्ने ।
कुकुर, बिरालो र न्याउरी आदि स्वप्नदृश्यको अन्त्यतिर देखिएको प्राय नराम्रो ।
घर,पर्वत, रुख अनि ठुला जनावर र पन्छी ढलेको देखिए नराम्रो ! भैंसी अनि सुँगुर चढेको देखे नराम्रो !
रुवा अनि खरानी देखेको नराम्रो !
मुल्यवान पत्थर सुन हीरा गरगहना अलपत्र देखिएको प्राय नराम्रो !
सुख्खा अन्न फाँको मारेको वा खाएको नराम्रो ! त्यस्तो खान खासगरी भात मोहीसँग मुछेर खाएको झनै नराम्रो !
पानी परेको र नचाहेरै रुझेको, डुब्दै गरेको बाढीमा परेको आदि देखिए चिन्ता बढ्ने तथा शरीरमा पीडा हुने संकेत !
विषय प्रसंगले नराम्रो मानिने भद्दा जुम्से झारपात लाग्ने अनि आफ्नो समाज र संस्कृतिले नराम्रा लाग्ने अस्वस्थ्यकर कुरा, भूत प्रेतात्माहरू आदि देखेको, ओरालो झरेको, रोएको अनि दक्षिणतर्फ हिंडेको प्राय नराम्रो !
सपना र सम्बन्धित चिन्ताको दोहोलो अथवा रोगको निदान

कतिपय विचारकहरूले सपनालाई उनीहरूको कार्यकौशलसँग जोडेर हेरेको पाइन्छ । सपना सुशुप्त मनको लुप्त भाषा हो र यसको अध्ययनले केही मनोरोगीको उपचार सम्भव गराउन सकिने उनीहरूको तर्क छ । जस्तो कि सिग्मन्ड फ्रायडका विचारमा दुई प्रकारका मानसिक प्रक्रियाबाट सपनाले स्वरूप प्राप्त गर्दछ ! चेत मनको नियन्त्रणको द्योतक र अचेत मनको चाहनाको उपज सपना भैदिन्छ ।

यस्ता सपनाहरूको विश्लेषण र अध्ययन गर्न सकिन्छ । दृश्य तरङ्गले यौटा कथानक बोकेको हुन्छ वा सतही झल्को हुन्छ भने त्यसको भित्री खुराक भने सांकेतिक हुन्छ र केही अर्थ बोकिरहेको हुन्छ । यो केही रोगको निदान, ज्योतिषको पूरक विद्या अथवा व्यक्तित्व वर्णन आदि तथ्यहरूमा प्रभावी भैरहेको हुन्छ नै । त्यस्तै सपना नियमित र टुक्रे गरी दुई खालको हुने वर्णित छ ।

नियमित सपना मानसपटलमा एउटै फिलिमको दृश्यजस्तो भएर मिलेर आएको हुन्छ र यसको निदानात्मक व्याख्या पनि सहज हुन्छ । अर्को तर्फ टुक्रे सपना फरक समय र स्वरूपका एकै ठाउँ कता न कता जोडिएर आउने गर्दछन् र यस्ता सपनाले खासै विश्लेषण सहज गराउन्नन् । ‘द इण्टर्प्रिटेशन ओव ड्रिम्ज’जस्ता पुस्तकमा संकेत गरिएअनुसार यस्ता विभिन्न प्रकारका सपनाका अध्ययनबाट निन्द्रामा बर्बराउने र सपनामै हिडडुल गर्ने सोम्नाम्बुलिज्मका रोगीहरूको उपचारमा सहयोग गर्न सकिन्छ ।

Image result for यस्ता सपना किन देखिन्छन् ?

साथै तन र मनको सामान्यीकरणमा सहजता महशुस गर्न सकिन्छ । थप चर्चा जोड्दा, सपनामा उडेको देख्नु प्राय यौन आनन्दको अवश्था र स्वतन्त्रतासँग जोडिएको पराकाष्ठा झल्कन्छ । मन परेको मान्छेलाई अरुले नदेख्ने तर आफूले देख्ने र च्याप्प समातेर वायू वेगले रमाउने सपना सो देख्नेलाई सारै रमाइलो लाग्ने हुन्छ ! “सोचेका साथीहरू नै सपनीमा आइदेको र घुम्न गएको देख्ता मन चङ्गा हुनेगर्छ । मलाई त विश्वाश लाग्छ । मिठो सपनाले मलाई भरदिन खुशी पनि दिन्छ कहिलेकाहीं । खुशी भएको बेला अरु काम गर्नपनि इनर्जी आउँदोरैछ कता-कता ! अनि, आफूलाई मन नपरेको कुरो जस्तो फोहोरमा खेलेको देखियो भने टेन्सन लाग्छ, के हुने हो, के नहुने हो ! तर फेरि, आची गरेको देखेको मलाई राम्रो हुन्छ, पैसा नै पाउँछु, त्यस्तो सपना देख्ता, तर यत्ति हो कि सुत्नु अगाडि राम्रा कुरा सोचेर प्रियजन सम्झेर सुतेको बेला भने सपना प्राय सकारात्मक नै देखिन्छ भन्छन् म नि त्यसै गर्छु ! अझै रमाइलो कुरा त, मनपर्दो सपना देख्तादेख्तै ब्युँझे पनि सिरानी पल्टाएर फेरि सुत्छु र त्यही सपना देख्छु ! कति सत्य कति भ्रम, सपना साँच्चै मिठो हुन्छ !” कपन निवाशी युवाकवि तथा वक्ता प्रज्ञा अर्याल बताउँछिन् ।

यसरी आफ्नो जीवन आफ्नो सपना सजाउनेहरू यसलाई जीवसत्य मानेको पाइएको छ भने कतिपयले बिपनीको परिपूरक संकेत मात्रै नभई सपना बिपनाको कुराको तनावले देख्ने गरिएको बताएका छन् । जे होस् तनावका त्यस्ता व्यक्ति तनावका कारणसम्म पुग्न सक्छन् र वास्तविक जीवनका समस्या हल गर्न सक्छन् ।

जस्तो कि विद्यालयमा टिचरहरूसँग डराएको वा उनीहरूबाट प्रताडीत बच्चा सपनामा सोहीअनुसारका कुरा बर्बराउने गरेबाट निश्चित हदसम्म बालमनोविज्ञान बुझी अवश्था सहजीकरण गर्नसकिने यथार्थ पनि विद्यमान छ नै । सपना व्यक्तिपरक हुने र व्यक्तिका केही स्वास्थ्य समस्यासँग यसलाई जोडेर हेर्ने गरिएको पनि सर्बविदितै छ । निदानात्मक कोणबाट पनि सपनालाई हेर्नसकिन्छ भन्ने प्रसङ्गमा रोग हेरी सपना र स्वास्थ्यबारे विमर्श गर्न सकिने बताउने डाक्टर ललित कुमार मिश्रका अनुसार सर्पले लखेटेको, ठुँगेको अथवा बाटो छेकेको सपना कसैले बराम्बार देख्दछ भने जाग्रत अवस्थामा पनि उसको मन हरहमेशा भयभित रहन थाल्छ ।

जसले गर्दा अजीर्ण, स्नायु दुर्वलता, रक्तहीनता आदि जस्ता मोनोदेहिक रोगबाट ग्रस्त हुन जान्छ । कसैलाई हावामा उडेर परपरसम्म डुलेको जस्तो महत्वकांक्षी सपना बारम्बार आउँछ भने यस्ता रोगीलाई एपिस मेलिफिका नामक औषधिको प्रयोग गरिन्छ । कारण केहो भने एपिसमेलिफिका नामक औषधि एपिसमेलिफिक जातको मौरीबाट बनेको हुन्छ । यस औषधिमा मौरीकै समान गुण–धर्म निहित छ । जसरी मौरी महसञ्चय गर्न धैरै टाढा-टाढासम्म उडेर जान्छ । खुल्ला हावादार चिसो ठाउँ मन पराउँछ । गर्मी मन पराउँदैन । ईर्ष्यालु स्वभाव हुनुका साथै अरुसंग बदला लिने जस्ता कैयौं मौरीको समान लक्षणहरु यस एपिस नामक औषधिको कार्य क्षेत्रभित्र पर्ने रोगी व्यक्तिमा देखा पर्छ । यही कारण उपरोक्त लक्षण भएको रोगीलाई होमियोप्याथीको सिद्धान्तमा संम, समं, शमयतिका अनुसार निको तुल्याइन्छ ।

सुतेको बेला बोक्सीले चुस्ने भ्रम कस्तो ! ऐठन कस्तो !?

हावा नखेल्ने गुमुक्क परेको कोठामा सुतेको मानिस सपनामा भूतप्रेत आएको देख्नसक्छ । सुतेको मान्छेको छातीमा हात परेको छ वा सिराने केही छ र भारी भएको अवस्था छ भने छातीमा बिरालो चढेको वा कसैले घाँटी न्याकेको सपना प्राय देखिन्छ नै । यस्तो शारीरिक पीडा भएपछि आत्तिएर उठ्ने र ऐठन भएको भन्ने चलन पनि पाइएकै छ ।

भूत न बोक्सी, भ्रम मात्रै हो र यस्ता तत्त्वबाट जोगिन बुटी लाउनेहरू र फुकफाक गरेर ठिक भएको ठान्नेहरू कमजोर मानिसकताका मुर्तीशिवाय केही हैनन् भन्नेहरू पनि ठुलै जमात राख्तछन् । डा. प्रविण श्रेष्ठका अनुसार सपनाले वास्तविक जीवन या घटनालाई केही हदसम्म चित्रण गर्ने गरेको भने बुझ्नसकिन्छ । हुनेवाला कुरा अनुमान सहयोग गर्ने सपना र्यापिड आई मुभमेन्ट चरणमा देखिन्छ ।

जुन ब्युँझेपछि सहजै सम्झिन सकिन्छ । हामी कुनै एक सोचाइमा धेरै डुब्यौँ भने सपनामा त्यही कुरा देखिन्छ । इतिहासमा थुप्रै महान व्यक्तिले सपनामा देखेको कुरालाई आधार बनाएर ठूलो काम गरेको र सफलता प्राप्त गरेको उदारहण छन् तर सपनाले भविष्यबाणी गर्छ भन्ने धारणा वैज्ञानिक देखिंदैन । त्यस्तै, राति सुतेको बेला भूतप्रेत या बोक्सीले छोप्न आयो भन्ने कुराको पनि सपनासँग सम्बन्धित वैज्ञानिक तथ्यका आधारमा विश्लेषण गर्न सकिन्छ । निद्राको र्यापिड आई मुभमेन्ट चरणमा शरीरका सम्पूर्ण मांसपेशी अति शिथिल अवस्थामा हुन्छन् ।

यो अवस्थामा निद्रा हलुका भए पनि मांसपेशीको त्यस्तो अवस्थाले गर्दा मानिस तुरुन्तै ब्युँझे पनि झट्ट उठ्न या हातखुट्टा चलाउन नसक्ने अवस्थामा हुन्छ । … त्यस्तै यो अवस्थामा शरीर केही बेरसम्म एकै अवस्थामा रहँदा ओछ्यानमा टाँसिएको शरीरको भाग उच्च चापका कारणले रक्त सञ्चार नपुगेर अथवा मसिना रक्तनली चुँडिएर रक्तश्राव भई छालामा नीलडाम बस्दछ । जसलाई हामी बोक्सीले रगत चुसेको भनी गलत अर्थ लगाउने गर्छौं । तसर्थ बोक्सीले छोप्न आयो भन्ने कुरा सपनासँग सम्बन्धित भ्रममात्रै हो । यसैले निद्रा र सपना सम्बन्धी भ्रम हटाऔँ, परिवार र समाजलाई मैत्रीपूर्ण बनाऔँ ।

निचोड

सपना केही होइन । देख्ने मान्छेको मानसिक अवश्था अनि शरीर-वातावरणले उब्जाउने कल्पनाको मानसपटलीय चित्रानुभूति, यो सपनाबारे विभिन्न सूत्र तथा तन्त्रहरूमा सन्दर्भ राखिएको मननीय छ ।

सपनासम्बन्धी अध्ययन गर्ने शास्त्र स्वप्न शास्त्र हो । ‘शिखरनाथ’, ‘स्वप्न-विचार’ नामक ग्रन्थ अनि ‘शब्दकल्पद्रुम’जस्ता कोशले पनि सपनाका सारा रहश्य बताएका छन् पश्चिमतिरका आलेखहरूले भन्दा धेरै । भरतले पिता मरेको सपना देखेको किस्सा रामायणमा भेटिन्छ नै ! यस्तै, हाम्रा उपनिषद, पुराणजस्ता ग्रन्थसमेतमा यसको उल्लेख भएबाट भन्न सकिन्छ सपना पक्का पनि एउटा महत्त्वपूर्ण अध्ययनको विशेष विषय हो ।

व्यक्तिगत जीवनमा प्रत्यक्ष वा परोक्ष रूपमा जोडिएको यस्तो स्वप्नील सत्य व्यक्तिगत टिकाटिप्पणीहरूमा पनि बग्रेल्ती प्रकशित छन् नै । यो विचारको भुलभुलैया यथार्थ जत्तिकै सबैखाले सभ्यताहरूसँग सम्बन्धित रहिआएको छ ।

यसै प्रसङ्गमा हिन्दु धर्मको आत्मा विचरणको अवस्था र बुद्ध धर्मको बार्दोको प्रकृति पनि विश्लेषण गरी हेर्ने हो भने सपनाको रहश्य अझ व्यापक खुल्दै जाने विश्वाश गर्न सकिन्छ । वृद्धि र विकासमा प्रगति गर्दै-गराउँदै अनि शुभ सोचको अनुशरण गर्दै जीवन र जगतमा अगाडि बढ्ने सपना देख्तै रहन वाञ्छनीय ठानिएको छ, शुभम् ! नारायण नेपाल

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम