प्रविधिले के गर्छ दिमागलाई?दिमागले कसरी प्रविधिसँग व्यवहार गर्छ ?

29

हामी सबैलाई थाहा छ गाँजर र ब्रोक्कोली हाम्रो स्वास्थ्यका लागि निकै गुणकारी हुन्। तर त्यसो भन्दैमा पूरा दिन गाँजर र ब्रोक्कोली खाएर बिताउन सकिन्छ र?

जुनै पनि कुरा धेरै भयो भने त्यसको नकारात्मक असर सुरु हुन्छ।

तर हामीमध्ये धेरै मोबाइललगायत अन्य प्राविधिक साधनसँग रहन पाउँदा खुशी हुन्छौं।

३४ देशहरूमा गरिएको एउटा सर्वेक्षणले सामान्य अवस्थामा इन्टरनेट प्रयोगकर्ताहरू औसतमा साढे छ घन्टा अनलाइन बस्ने देखाएको छ।

थाइल्यान्ड, फिलिपिन्स र ब्रजिलमा भने ९ घन्टाभन्दा बढी समय त्यहाँका इन्टरनेट प्रयोगकर्ताहरू अनलाइन हुने सर्वेक्षणमा पाइएका छन्।

उनीहरूले एक तिहाइ समय सामाजिक सञ्जालमा बिताउने गर्छन्।

प्रविधिले के गर्छ दिमागलाई?
प्रविधिको प्रयोगले हाम्रो शरीर र मस्तिष्कको अवस्थामा पुग्ने असर अहिले पनि वैज्ञानिकको अध्ययनका विषय हुन्।

क्यानेडियन डाक्टर शिमी काङ बालबालिका तथा किशोरावस्थाको मनोस्वास्थ्यसम्बन्धी विशेषगरी विभिन्न कुराको लत बारेकी विज्ञ हुन्।

आफ्नो फोनमा ब्यस्त युवाहरू

उनले बीबीसीलाई भनिन्, “पछिल्लो समय मानिसहरूको बढ्दो चिन्ता, निराशा, शारीरिक सुगठनमा समस्या र इन्टरनेट लतले गर्ने समस्यामा प्रविधिको हात रहेको मेडिकल जाँचमा पाइएका छन्।”

तर जसरी खानाका विभिन्न प्रकारहरू छन् त्यसरी नै प्रविधि पनि विभिन्न किसिमका छन्।

ती प्रविधिहरूसँग स्वस्थ सम्बन्ध बनाउन तिनले हाम्रो दिमागमा पार्ने प्रभावबारे जान्न जरुरी छ।

दिमागले कसरी प्रविधिसँग व्यवहार गर्छ
डोपामाइन

डाक्टर काङका अनुसार हाम्रो दिमागले प्रविधिसँगको प्रतिक्रियास्वरुप शरीरमा ६ विभिन्न किसिमका स्नायु रसायन उत्पादन गर्छ।

सेरिटोनिन्- जब हामी इन्टरनेटमा जोडिएर सिर्जनात्मक भइ त्यहाँ केही लेख्न खोज्छौँ हाम्रो दिमागले सेरोटोनिन् रसायन उत्पादन गर्छ।
एन्डोर्फिन- यो शरीरको पीडानाशक र शान्ति कायम गर्ने स्नायु रसायन हो। जब हामी सजग रहन्छौं, ध्यान गर्छौं, कृतज्ञता व्यक्त गर्छौं, र कार्डियोभास्कुलर व्यायामको अनुभव गर्छौं तब यो रसायन शरीरमा उत्पादन हुन्छ।
अक्सिटोसिन- जब हामी इन्टरनेटमा जोडिएर अर्थपूर्ण आदान प्रदान गर्छौँ तब यो रसायन निस्कन्छ। सामान्य अवस्थामा यो स्वस्थ हो तर अनलाइनमार्फत् दुर्व्यवहार गर्नेहरूले यसको प्रयोग गरी पीडितको विश्वासमाथि घात गर्नसक्छन्।
डोपामाइन- तत्काल पाइने इनाम वा प्रशंसाका कारण दिमागले यो रसायन निकाल्छ। डोपामाइन रसायनको उत्पादन बढाउने हेतुले प्रविधिको विकास गरिँदै आएको बताइन्छ।
एड्रिनालिन- यो रसायनले लडाइ र उडान स्थितिमा हाम्रो प्रतिक्रिया कायम गर्न मद्दत गर्छ। तर सामाजिक सञ्जालमा मन परेको नपरेको र दाँजेको बेला यो रसायन निस्कन्छ।
कोर्टिसल- तनाव, निद्राको कमी, अति व्यस्तता र विचलित व्यक्तिहरूमा यो रसायनको मात्रा बढी हुन्छ।
सबै प्रविधि एकै किसिमका हुँदैनन्। र, सबभन्दा महत्त्वपूर्ण कुरा सबै प्रविधिसँग अनुभव एकै किसिमको पनि हुँदैन।

स्वस्थ, विषाक्त र जंक प्रविधि

“स्वस्थ प्रविधिले दिमागको शक्ति बढाउने सेरोटोनिन्, इन्डोर्फिन र अक्सिटोसिन निष्कासन गर्छ”, डा काङ भन्छिन्।

हामीलाई मानिसहरूसँग जोडिन अनुमति दिने ध्यानसम्बन्धी एप्स, सिर्जनात्मक एप्स र कनेक्सन एप्स केही उदाहरण हुन्।

तर बानी पार्ने डोपामाइन बढायो भने लत लाग्न सक्ने खतरनाक सीमा सजिलै पार गर्न सक्छ।

योग गर्दै महिला

“जस्तै भनौँ एउटा क्रियटिभ एप्समा तपाईँको बच्चालाई सिनेमा बनाउन मनपर्छ। तर उसले त्यस्तो गर्न दिनमा छसात घन्टा बिताउन सक्छ”, उनी भन्छिन्।

“यो क्यान्डी क्रस जस्तै डोपामाइन बढाउने प्रविधि होइन तै पनि होस पुर्याउनु पर्छ र समय सीमा तोक्नु पर्छ।”

अर्को तर्फ जंक प्रविधि पनि छ जुन प्रयोग गरेर हामी आफैँलाई नष्ट गरिरहेका हुन्छौँ।

उनी त्यसलाई हामीले संवेगात्मक सन्तुलन गुमाउँदाखेरी खाने जंक फुड जसले हामीलाई कुनै लाभ पुर्याउँदैन त्यससँग दाँज्छिन्।

प्राविधिक आहार
कुनै पनि स्वस्थ प्राविधिक आहार विषालु चिजहरूबाट टाढा रहनसक्ने उनी बताउँछिन्। तर हल्का तलमाथि सम्भव छ डा काङ भन्छिन्।

हामीलाई प्रशोधन गरिएको र चिनीजन्य पेय पदार्थ नखान सुझाइन्छ।

तर शुक्रवार राति आफ्ना छोराछोरीसँग पिज्जा वा पपकर्न खानु स्वीकार्य छ।

प्रविधिको प्रयोग

त्यसरी नै कुनै कुरा नसोची तपाईँको इन्स्टाग्राम खाता हेर्नु वा भिडियो गेम खेल्नु ठिकै हुन्छ।

तर मधुमेहको विरामी हुनुहुन्छ वा मधुमेह हुन लागेको छ भने डाक्टरले चिनीजन्य कुनै कुरा नखानु भनेर कडा निर्देशन दिइएको हुन्छ।

प्रविधि प्रयोगमा पनि यस्तै हुन्छ।

यदि तपाईँको परिवारमा कसैलाई लत, चिन्ता, निराशा, वा समय व्यवस्थापनबारे समस्या छ भने तपाईँले विशेष सावधानी अपनाउनु पर्छ।

किनभने तपाईँले ती कुराहरूलाई हानिकारक लतमा बदल्न सक्नुहुनेछ।

प्रविधिभन्दा टाढा
ग्लोबल वेभ इन्डेक्सका अनुसार ब्रिटेन वा अमेरिकाका हरेक १० इन्टरनेट प्रयोगकर्तामध्ये सात जनाले कुनै न कुनै किसिमको प्राविधिक आहार ग्रहण गरेको वा पूरै रुपमा बहिष्कार पनि गरेको देखिएको छ।

स्मार्टफोन

यसमा सामाजिक सञ्जाल खाताहरू बन्द गर्नेदेखि एप्सहरू हटाउने र अनलाइन बिताउने समय घटाउने परेका छन्।

हामीले हरेक रात आठ वा नौ घन्टा सुत्नुपर्छ।

प्रत्येक दुई वा तीन घन्टामा हामीले शरीरलाई चलाउनु पर्छ।

शरीर तन्काउने, बाहिर जाने र प्राकृतिक प्रकाश पाउनुपर्छ, डा काङ भन्छिन्।

“तपाईँ असाध्यै राम्रो प्रविधिको काम गरिरहनु भएको छ तर त्यो पनि अन्य मानवीय गतिविधि नगरी गरिरहनु भएको छ भने त्यो पनि अति हुन्छ।” (बिबिसी नेपाली)

 

 

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम