सुस्त मनस्थितीका बच्चाः हुनसक्छ विशेष खुबी

79

आमिर खान निर्देशित हिन्दी फिल्म ‘तारे जमिन पर’मा एक वालकको कथा छ, जसलाई आम समाजले ‘एवनर्मल’ भन्छ । अर्थात असामान्य ।
आफ्नै दुनियाँमा मग्न हुने उनमा कल्पनाशिलता भने बेजोड छ । साथसाथै जिद्दी र एकोहोरो पनि । उनी अक्षरलाई सही ढंगले बुझ्न समर्थ छैनन् । पढाएको कुरालाई हु-बहु ग्रहण गर्न सक्दैनन् । त्यही कारण उनी विद्यालयमा कमजोर विद्यार्थीमा दरिएका छन् ।

आमाबुबालाई उनको भविष्यको चिन्ता छ । जेठो छोरोले पढाईमा राम्रो गरिरहेको छ, खेलकुदमा उत्तिकै लगडा छ । तर, कान्छो छोरो सुस्त छन् । विद्यालयले त उनलाई ‘एवनर्मल’ भनेर अन्य विशेष कक्षामा भर्ना गराइदिन भनेको छ ।

अब बच्चालाई विशेषकक्षामा भर्ना गराइन्छ । आमाबुबाबाट अलग राखेर । एकातिर आफु लेखपढ गर्न नजान्ने भन्ने कुराको वोध, अर्कोतिर आमाबुबासँग विछोडिनु पर्दाको पीडा । दुबै खेपेर बसेका उनको मनोविज्ञान एक आर्ट शिक्षकले बुझ्छन् । र, अरुले सुस्त मनस्थितीको भनेर हेय दृष्टि राखिरहेका बच्चाभित्र के खुबी छ भनेर खोतल्ने काम गर्छन् ।

अन्ततः उक्त बच्चामा बेजोड कल्पनाशिलता र त्यसलाई कलात्मक रुपले क्यानभासमा उतार्न सक्ने खुबी पाउँछ । त्यही कुरामा बढाव दिन्छन् । बच्चा मन्दबुद्धीका नभई असाधरण प्रतिभाशाली निस्कन्छन् ।

फिल्म ११ बर्षअघि नै प्रदर्शनमा आएको हो । तर, फिल्मले जुन विषयलाई उठाएको छ, त्यो हाम्रो समाजमा कहिल्यै पुरा हुँदैनन् । त्यसैले वर्तमान सन्दर्भमा उक्त फिल्मको कथा जोडिएको हो ।

हाम्रो भ्रम

अहिले पनि कतिपय घरमा यस्तै बच्चा छन्, जसलाई हामी एवनर्मल वा असामान्य ठानिरहेका छौं । उनीहरुलाई जबरजस्ती विद्यालय पठाउँछौं, पाठ घोक्न लगाउँछौं, होमवर्क गर्न लगाउँछौं । उनीहरु यी सबै कामबाट भाग्न खोज्छन् । पन्छिन खोज्छन् । किनभने ति बच्चाहरुको मस्तिष्कले यस्ता कुरा सहजै ग्रहण गर्न सक्दैन ।

यस्ता बच्चालाई हामी भन्छौं, ‘मन्दबुद्धीका बच्चा । पढ्न नसक्ने । मेहनत गर्न नसक्ने ।’

उनीहरुलाई अलग स्थानमा राखेर हेछौर्ं । हामीलाई लाग्छ यस्ता बच्चा कमजोर छन् । केही जान्दैनन् । त्यही कारण जान्ने बनाउनका लागि उनलाई जबरजस्ती पढाउँछौं । घोकाउँछौं । त्यसका लागि कडा अनुशासनमा राख्ने, कुटपिट गर्ने, गाली गर्ने कृत्यसम्म पछि पर्दैनौं ।

कति अभिभावक विद्यालयमा भनिरहेका हुन्छन्, ‘म्याम यसलाई अलि गाली गरेर, डर देखाएर पढाउनु होला । घरमा पढ्दै पढेन ।’

शिक्षकहरुले पनि अभिभावकको आग्रह शिरोधर गर्दै बच्चालाई सजायको डर देखाएर किताब घोक्न लगाउँछन् । पाठ कण्ठ गर्न लगाउँछन् । जबकी सबै बच्चाको स्मरण क्षमता समान हुँदैन । सबै बच्चाको रुची र चाहाना समान हुँदैन । सबै बच्चा उत्तिकै चलाख हुँदैनन् । सबै बच्चाको चेतनास्तर समान हुँदैन । यी सत्यलाई न अभिभावकले मनन गर्छन्, न शिक्षकले बुझ्छन् ।

कमजोर बच्चालाई थप यातना

कमजोर वा मन्दबुद्धीको श्रेणीमा राखेर बच्चालाई हामीले वास्तवमा यातना दिइरहेका हुन्छौं । यस्ता यातनाबाट बच्चा हामीले ठानेझै बुद्धिमान बन्छन् त ? ज्ञानी बन्छन् त ? अनुशासित बन्छन् त ? तेज बन्छन् त ?

त्रुटी यहीँ छ । हामी के ठान्छौं भने आफुले जस्तो सोच्यो, बच्चा त्यस्तै हुनुपर्छ । हामीले सोचेभन्दा फरक बच्चालाई कमजोर वा नालायक ठान्छौं । जबकी बच्चाहरु आफैमा कमजोर हुँदैनन् । फिल्म ‘तारे जमिन पर’मा भनेझै हरेक बच्चा आफैमा विशेष हुन्छन् । उनीहरुमा केही न केही खुबी हुन्छन् ।
हामीले आफ्ना बच्चाको खुबी चिन्ने हो । उनीहरु के गर्न चाहन्छन्, के बन्न चाहन्छन्, कसरी रमाउँछन्, के कुरामा खुसी हुन्छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

हरेक बच्चा आफैमा विशेष

हामीलाई सुस्त वा मन्द बुद्धीका लाग्ने बच्चाहरुमा केही न केही खुबी हुन्छन् । उनीहरुको असली खुबी पहिचान गर्न नसक्नु हाम्रो कमजोरी हो, बच्चाको होइन ।

एक सर्वेका अनुसार हरेक १० बच्चामा एक बच्चामा कुनै न कुनै किसिमको असक्षमता हुन्छ । कति मानसिक रुपले त कति शारीरिक रुपले । गर्भावस्थामा उचित पोषण एवं रेखदेखको अभावले पनि बच्चाले जन्मजात कुनै समस्या लिएर आउँछन् ।

कति स्पष्ट देख्न सक्दैनन्, कति बोल्न सक्दैनन्, कति कान सुन्दैनन्, कतिको स्मरण क्षमता कमजोर हुन्छ । यस किसिमको बच्चाहरुलाई सही रेखदेख र उचित मार्गदर्शनको खाँचो हुन्छ ।

मानसिक रुपले कमजोर बच्चालाई मौका दिइयो भने उनको प्रतिभाको विकास हुने मनोविज्ञहरुको दावी छ ।

@Onlinekhaber

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम