मोदीको भ्रमण कार्यक्रम सार्वजनिक गरेकोमा गृहमन्त्रीप्रति परराष्ट्रमन्त्री असन्तुष्ट

40

काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण कार्यक्रम सार्वजनिक गरेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’प्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली असन्तुष्ट भएका छन् ।

नेपाल र भारत दुवैतर्फबाट औपचारिक तिथि सार्वजनिक नहुँदै गृहमन्त्री रामबहादुर थापाले जनकपुरमा पत्रकारहरुसित भ्रमण तालिका सार्वजनिक गरिदिएका थिए । मोदीको जनकपुर भ्रमणको कार्यक्रम तय भए पनि सिधै जनकपुरधाम आउनेबारे कुनै सूचना दिइएको थिएन ।

परराष्ट्रमन्त्री ज्ञवालीले गृहमन्त्रीले भ्रमण कार्यक्रम सार्वजनिक गरेको विषयमा सचिव शंकर बैरागीलगायतका परराष्ट्र अधिकारीसँग मंगलबार नै छलफल गरेको स्रोतको दाबी छ । ‘उहाँले सेक्युरिटी बन्दोबस्तमात्रै गर्ने हो,’ ज्ञवालीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘कुटनीतिक मर्यादाविपरीतको काम भयो ।’

सुरक्षा व्यवस्था अवलोकन गर्न गएएका गृहमन्त्री थापाले जनकपुरमा पत्रकारहरूबीच भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते बिहान सीधै जनकपुरमा अवतरण गर्ने जानकारी दिएका थिए । दुवै मुलुकका परराष्ट्र मन्त्रालयले एकै पटक भ्रमणको तिथि तथा कार्यक्रम सार्वजनिक गर्ने प्रचलन छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीले गृहमन्त्रीको भनाइप्रति तत्कालै प्रतिक्रिया जनाइसकेका छन् । ‘यो तालिका प्रारम्भिक मात्र हो, सुरक्षा दृष्टिकोणले तलमाथि हुन सक्छ,’ ती अधिकारीको भनाइ छ ।

तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई सरकारका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ प्रधानमन्त्रीको भ्रमण कार्यक्रम सार्वजनिक गर्दा भ्रमण नै रद्द भएको थियो । पछि आकस्मिकरुपमा २०६८ पुस ३० गते तत्कालिन चिनियाँ प्रधानमन्त्री बेन जियाबाओ केही घण्टाका लागि नेपाल आएका थिए ।

स्वागतमा वरिष्ठ मन्त्री

भारत भ्रमणमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उच्च महत्व दिएका मोदीको स्वागतमा सरकारले वरिष्ठ मन्त्री पठाउने भएको छ । ओलीपछिको वरीयतामा रहेका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल र प्रान्तीय मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले स्वागत गर्ने तय भएको छ । मोदीलाई ओली आफैंले स्वागत गर्ने इच्छा राखे पनि हुन सक्ने विरोधलाई मध्यनजर गर्दै पोखरेललाई पठाउन लागिएको हो ।

मोदी चढेको हेलिकप्टर जनकपुरको रंगभूमि मैदान (१२ बिघा) मा अवतरण गर्नेछ । पोखरेल र रावतले त्यहीँ उनलाई स्वागत गर्नेछन् । मोदी त्यहाँबाट जानकी मन्दिर आएर आधा घण्टा पूजाअर्चना गर्ने कार्यक्रम छ, त्यहाँ भने प्रधानमन्त्री ओली पुग्नेछन् ।

जनकपुरपछि काठमाडौं आउने मोदीलाई टुँडिखेलमा उनको सम्मानमो ‘गार्ड अफ अनर’ समारोह राखिएको छ । सोही दिन राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसलगत्तै उनी पोखरा हुँदै मुक्तिनाथ जाने तयारी छ ।

वैशाख २९ गते भने काठमाडौंमा राजनीतिक भेटघाट गर्ने र संयुक्त पत्रकार सम्मेलनमा विभिन्न परियोजना शिलान्यासपछि मोदी स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।केन्द्रबिन्दु

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम