जाँतो नहुने घरकालाई बुहारी पाउन कठिन !

75

खोटाङ । ‘पहिले–पहिले त जाँतो नभएको घरै हुँदैनथ्यो,’ हलेसी–तुवाचुङ नगरपालिका दुर्छिम, खोटाङका कम्प्युटर अपरेटर सयन्द्र राईले सुनाए, ‘जाँतो नभएको घर गहना नलगाएकी बुहारीजस्तो देखिन्छ ।’
नभएका त नभएकै भए भएका घरको जाँतो पनि प्रयोगमा आएको देखिँदैन । कुटानी पिसानीका लागि गाउँ–गाउँमा मिल सञ्चालनमा आएपछि जाँतो प्रयोग गर्न छाडिएको हो । घरेलु मिलका रूपमा परिचित जाँतो प्रयोग कम हुँदै गएको छ ।

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाका अनुसार दाल, गहुँ, मकै, कोदो आदि पिस्न प्रयोग गरिने दुई चेप्टा ढुंगाद्वारा निर्मित जाँतो हातले चलाइने प्राचीन उपकरण हो ।

‘मिलले थोरै समयमा धेरै कुटानी पिसानी गरी समयको सदुपयोग गरिदिएको छ,’ हलेसी–तुवाचुङ नगरपालिका–७ ऐंसेलुखर्ककी भैलक्षी राईको बुझाइ छ, ‘जाँतोमा पिँध्दा समय लाग्छ । त्यही भएर प्राचीन उपकरण जाँतो प्रयोगहीन बन्दै गएको होला ।’

गाउँघरतिर कतिपयको जाँतो हुँदैनथ्यो । नभएकाले भएकाको घरमा गएर पालो पर्खेर जाँतो पिँध्नुपथ्र्यो । अर्काको अनुकूलमा जाँतो पिँध्नु सानोतिनो सजाय नै मानिन्थ्यो । त्यतिबेला नहुनुको पीडाबोध हुने नै भयो । त्यसैले छोरी माग्न पुगेका नातागोतालाई घरमा ढिकी, जाँतो छ कि छैन भनेर सोधिएको हुनुपर्छ । त्यतिबेला ढिकी, जाँतो नभएको घरमा छोरीचेली दिन सोच्नैपथ्र्यो । हुनेवाला ज्वाईंको घरमा जाँतोसम्म नभए आफ्ना छोरीले दुःख पाउँछन् भनेर सोच्ने अभिभावक कति दूरदर्शी ।

कुटानी पिसानीका लागि मिल उपयुक्त मानिए पनि धार्मिक शुभकार्यमा ढिकी, जाँतो र ओखलमा तयार पारिएको चामल विशुद्ध मानिन्छ । ‘कुटानी पिसानीका लागि जाँतो सरल मानिनेमात्रै होइन,’ शिक्षा मन्त्रालयका शाखा अधिकृत भूपेन्द्रकुमार राईले सुनाए, ‘जाँतो चलाउन डिजेल, पेट्रोल र मट्टीटेल नचाहिने भएकाले वातावरणीय दृष्टिले समेत यसलाई उपयुक्त मानिन्छ । आवश्यक परेको बेला कुटानी पिसानीका लागि घरमा भएको जाँतो चलायो पुगिहाल्छ ।’ हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिमनिवासी शाखा अधिकृत राईले समेत संवत् २०३० देखि ०३२ सालसम्म जाँतो पिँध्न आमालाई सघाएको बताए ।

वातावरणीयमात्रै नभएर स्वास्थ्यको दृष्टिले समेत जाँतोको महत्व उत्तिकै छ ।  ‘छरितो मानिए पनि मिलमा कुटानी पिसानी गरिएको अनाजको प्रोटिन, कार्बाेहाइडे«ड, खनिज पदार्थ तथा पौष्टिक तत्व नष्ट हुन्छ,’ कम्प्युटर अपरेटर राईको ठम्याइ छ, ‘डिजेल, पेट्रोल र मट्टीटेलबाट चल्ने मिलले वातावरणमात्रै होइन, ध्वनि प्रदूषणसमेत गर्छ ।’

धार्मिक कार्यका लागि जाँतोमा पिँधेको अनाज शुद्ध मानिनु भनेको जाँतोलाई महत्व दिनु नै हो । जाँतोसँग सम्बन्धित उखान–टुक्का थुप्रै बनेका छन् । खाँदै छ, हग्दै छ के हो ? भनेर सोधिने उखानले जाँतोको महत्वलाई औंल्याएको छ ।

त्यतिबेला सम्बन्धित घरका छोरीबुहारीले प्रत्येक बिहान तीन÷चार बजे उठेर जाँतो पिँध्नुपर्ने बाध्यता थियो । भाले बास्नसाथ उठेर हाई गर्दै पिँधिने जाँतोको आवाज त्यत्तिकै श्रवणीय हुन्थ्यो ।

ललितपुरको हात्तीवन बस्दै आएका भूपेन्द्रकुमार राई समय–समयमा गाउँ पुग्छन् । राईले अतीत सम्झे, ‘हिजोआज गाउँघरमा जाँतो पिँधेको आवाज सुन्न नपाउँदा बिरानो लाग्दोरहेछ । परापूर्वकालदेखि जाँतो पिँधेको आवाज सुन्नेले पछिल्लो समय मिल चलाएको आवाज सुन्न अभ्यस्त छन् ।’

जाँतो पिँध्न खेताला

धेरै खेतबारी हुनेले बालीनाली लगाउन र उकेर्न (उठाउन) खेताला लगाउने परम्परा गाउँघरतिर हिजोआज पनि कायमैै छ । तर, जाँतो पिँध्नसमेत खेताला लगाउने परम्परा भने विरलै सुन्न पाइन्छ । सोलुखुम्बु सदरमुकाम सल्लेरीदेखि १९ कोस दूरीमा रहेको गुदेलस्थित चाचालुङमा भने जाँतो पिँध्न खेताला लगाउने गरिन्छ । कुटानी पिसानीका लागि जाँतोमै भर पर्ने स्थानीयले परापूर्वकालदेखि जाँतो पिँध्न खेताला लगाउँदै आएका हुन् ।

खेताला जानेले सम्बन्धित घरमा दुईदेखि साढे दुई घन्टासम्म जाँतो पिँध्न सघाउनुपर्छ । ‘दुईजनाले जाँतो पिँध्दा शारीरिक भार कम हुनुका साथै थोरै समयमा धेरै अन्न पिँध्न सकिन्छ,’ स्थानीय हीराकमल कुलुङले भनिन्, ‘त्यतिमात्रै होइन, जे पिँधिएको हो त्यो राम्रोसँग पिँधिन्छ ।’

साबिक गुदेल गाविसभरि भरपर्दाे पानीको स्रोत छैन । पानी नभएको ठाउँमा पानीघट्ट चलाउन असम्भव छ । ‘कुटानी पिसानीका लागि महिला नै अघि सर्नुपर्छ,’ साबिक गुदेल–६ चाचालुङकी परिसुख राईले भनिन्, ‘जाँतो पिँध्न खेताला लगाउने परम्पराले स्थानीय महिलालाई समयमै घरभित्रको काम सकेर घरबाहिरको काम गर्न पुरुषलाई सघाउन भ्याइन्छ ।’ दिपेन्द्ररार्इ  Ratopati

जवाफ फर्काउनुहोस

प्रतिक्रिया लेख्नुहोस
तपाईंको नाम